गैडाकोट-१७ ले बाड्यो दुधमा अनुदान

0 Shares

मित्र खरेल, गैंंडाकोट

गैंडाकोट नगरपालिका वडा नं. १७ ले कृषि तथा पशुपालन अनुदान कार्यक्रम अन्तर्गत दुग्ध उत्पादक किसानका लागि अनुदान रकम वितरण गरेको छ। वडाभित्रका दुग्ध उत्पादक किसानलाई प्रोत्साध स्वरूप प्रति १ लिटर दूधमा १ रुपैयाका दरले अनुदान रकम उपलब्ध गराईएको वडाअध्यक्ष गोपी कंडेलले बताए।

बुधवार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उत्पादन र विक्रीको वास्तविक तथ्यांकको आधारमा न्यायोचित र समतापूर्ण वैज्ञानिक वितरण प्रणाली अवलम्वन गरिएको अध्यक्ष कडेलको तर्क छ। सिमित र थोरै बजेट परिधिमा रहेर वडाले वितरण गरेको रकम अंकका हिसावले न्यून भए पनि उत्पादन‌मा जोडिने किसानलाई हौसला प्रदान गर्नुका साथै पशु पालन गर्दा हुने खर्च व्यवस्थापनमा मदत पुग्ने उनको विश्वास छ ।

स्थानीय दुग्ध सहकारी संस्था मार्फत दुध विक्री गरेको तथ्यांक विवरणको आधारमा वडाभित्रका किसानलाई अनुदान भुक्तानी दिने शुरुवात भए‌को समेत जनाइएको छ। वडाको अनुदान कृषकको बैंक खातामा दाखिला गरिएको छ ।

प्राप्त विवरण अनुसार गैंडाकोट-१७ का १ सय ५ जना किसान अनुदान भुक्तानी प्राप्त गर्ने सूचीमा छन् । यसरी प्रदान गरिने भुक्तानी वापत १ लाख ५४ हजार रुपैंया अनुदान प्राप्त गर्नेछन् । चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म ६ महिनाको अवधिमा किसानले वेचेको दूधको विवरणको आधारमा अनुदानको कार्यान्वयन गरिएको हो ।

सोही अवसरमा दिइएको जानकारी अनुसार यो अवधिमा जमुना गाई फर्मका अनुप पौडेलले २० हजार ३ सय २, केसी गाई फर्मका श्याम केसीले १६ हजार १ सय र के सी फर्मका खेम केसीले १० हजार ४ सय लिटर दूध विक्री गरेको विवरण अनुसार सोही लिटर वरावरकै अनुदान रकम पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप