हुलाकी सडकलाई प्राथमिकता दिने महतको प्रतिबद्धता

0 Shares

नवलपुर । नेकपा एमालेका उम्मेदवार तिलक महतले प्रतिनिधिसभा निर्वाचन अभियानअन्तर्गत आज मध्यविन्दु नगरपालिका–१, २ र ३ मा सघन घरदैलो कार्यक्रम सम्पन्न गरेेका छन् ।

घरदैलोका क्रममा उम्मेदवार महतले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै राय–सुझाव संकलन गर्नुका साथै आफ्ना योजना र प्रतिबद्धता सुनाउँदै हिडेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रका बस्तीहरूको समग्र विकासका लागि हुलाकी सडक योजना आफ्नो  प्राथमिकतामा रहने बाचा गरे । हुलाकी सडक निर्माण अघि बढे यससँग जोडिएका बस्तीहरू क्रमशः बजारका रूपमा विकास हुँदै जाने र आर्थिक गतिविधि विस्तार भई समग्र क्षेत्रकै मुहार फेरिने अवधारणा सुनाए ।

त्यसैगरी, नारायणी नदी तटीय तथा मध्यवर्ती क्षेत्र भएकाले नदी कटान नियन्त्रण, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरण र सुरक्षित बसोबासका लागि ठोस कार्यक्रम ल्याइने  कसम खाए ।

नारायणी तटीय क्षेत्र पर्यटकीय दृष्टिले सम्भावनायुक्त रहेकाले पर्यटन पूर्वाधार निर्माणमार्फत रोजगारी सिर्जना गर्न सकिने महतको भनाइ थियो। प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड दिइने स्पष्ट पारे ।

घरदैलोका क्रममा मतदाताबाट प्राप्त सकारात्मक साथ, सुझाव र उत्साहले आफू थप जिम्मेवार बनेको महतले बताए । “जनताको गुनासा, राय र सुझावकै आधारमा योजना बनाउँछु, काम गर्छु,” उनले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप