खगेन्द्र पराजुली नवलपुर ।
देवचुली होटल ब्यवसाय संघले तनहु कास्की र बाग्लुङका होटल सम्वद्ध संघमा आवद्ध पदाधिकारी प्रतिनिधिहरुबीच अन्तरजिल्ला अन्तरक्रिया गरेको छ । देवचुली नगरपालिकाभित्र रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसार तथा प्रवद्र्धन हेतु तनहुको दमौली, कास्कीको पोखरा र बाग्लुङमा अन्तरक्रिया गरेको हो ।
शुक्रबार तनहुँको दमौलीमा तनहु होटल ब्यवसाय संघ र पोखराको पृथ्वी होटल ब्यवसाय समितिबीच अन्तरक्रिया गरेको देवचुली होटल ब्यवसाय संघले शनिबार बाग्लुङमा पनि अन्तरक्रिया गरेको हो ।
देवचुली नगरपालिकाभित्र रहेका पर्यटकीय गन्तब्यहरुको चिनारी र परिचयका बारेमा जानकारी दिने उदेश्यले पुगेका टोलीको नेतृत्व गरेका होटल ब्यवसाय संघ देवचुलीका अध्यक्ष लक्ष्मण चापागाई, बरिष्ठ उपाध्यक्ष भोजराज ज्ञवाली, होटल ब्यवसाय महासंघ गण्डकीका सदस्य पेउनारायण न्यौपाने देवचुली नगरपालिका वडा नं. ५ का अध्यक्ष कृष्णप्रसाद सापकोटा र दलदले बजार ब्यवस्थापन समितिका अध्यक्ष राजेश रसाइलीले छुट्टा–छुट्टै भएका अन्तरक्रियात्मक कार्यक्रममा देवचुलीका पर्यटकीय स्थलहरुका बारेमा चर्चा गरेका थिए ।
उनीहरुले ब्यवसायिक अवसर, सम्भावना र समस्या चुनौती र अन्तरजिल्ला समन्वयले पर्यटन तथा होटल ब्यवसायले अर्थतन्त्रमा परिरहेको प्रभावका बारेमा पनि धारणा सुनाएका थिए ।
दमौलीमा भएको कार्यक्रममा देवचुलीबाट अन्तरक्रियाका लागि पुगेको टोलीलाई स्वागत गर्ने क्रममा होटल ब्यवसाय महासंघ नेपालका केन्द्रिय सदस्य तथा तनहुँका ब्यवसायी प्रेमकुमार श्रेष्ठ, तनहुँ होटल ब्यवसाय संघका अध्यक्ष गिरबहादुर थापा र गण्डकी प्रदेश होटल ब्यवसाय महासंघका वरिष्ठ उपाध्यक्ष दुर्गाबिलास भटराइले तनहुका पर्यटकीय गन्तब्यका बारेमा पनि चर्चा गरेका थिए ।
पोखरामा आयोजित अर्को कार्यक्रममा गण्डकी प्रदेश सरकार पर्यटन बोर्डका सिनियर अफिसर युवराज गुरुङ, पृथ्वी होटल ब्यवसाय समितिका अध्यक्ष मोतिप्रसाद श्रेष्ठ र उपाध्यक्ष ऋषिराम पौडेल, निवर्तमान अध्यक्ष बालकृष्ण निउरेले पोखराको पर्यटनले होटल ब्यवसायमा पारेको प्रभावका बारेमा चर्चा गरेका थिए ।
बाग्लुङमा सम्पन्न अन्तरक्रियामा बाग्लुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, होटल ब्यवसाय संघ बाग्लुुङका अध्यक्ष निलेशकुमार राजभण्डारी, वरिष्ठ उपाध्यक्ष ललिता थापा र होटल ब्यवसाय महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखालले पछिल्लो समय बाग्लुङले पर्यटन बिकासमा मारेको फड्कोका बारेमा बर्णन गरेका थिए ।
अन्तरक्रियामा बोलेका बक्ताहरुले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन ब्यवसाय र पर्यटन ब्यवसायसँग प्रत्यक्ष सम्वन्ध राख्ने होटल ब्यवसायलाई पवद्र्धन गर्न देवचुली नगरपालिकाले गरेको सहयोग र समन्वयको प्रसंसा गरेका थिए ।
देवचुली नगरपालिकाको सहयोगमा तथा तिनवटै जिल्लाका होटल ब्यवसाय संघहरुको समन्वयमा भएका अन्तर जिल्ला अन्तरक्रिया कार्यक्रममा देवचुली होटल ब्यवसाय संघमा आवद्ध ६२ जना सदस्य प्रतिनिधि, देवचुली नगरपालिकाको आर्थिक विकास समितिका सदस्य वडाअध्यक्षहरु नूनप्रसाद बाचे, लोकप्रसाद भुर्तेल र देवचुलीको स्थानीय संञ्चार संस्था देवभूमी खबरका प्रतिनिधि खगेन्द्र पराजुली सहित ६७ जनाको प्रतिनिधि टोली सहभागी थिए ।
यस वीचमा टोलीले पर्यटक आकर्षणका गन्तब्यहरु डेभिड फल, पुम्दीकोट, फेवाताल, बाग्लुङ कालिका, लामो पुल, बन्जी लगायतका प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटकीय गन्तब्यको अवलोकन गरेका छन् ।
२ दिने अन्तरक्रिया सहितको कार्यक्रम सकेर फर्किएका ब्यवसायीहरुले कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिएका छन् ।