खगेन्द्र पराजुली, माघ २६, नवलपुर । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले दिब्यधाम अवलोकन गरेका छन् । नवलपुर आएका प्रदेश सभामुख धिताललाई दिब्यधाम धार्मिक क्षेत्र ब्यवस्थापन ‘समितिका पदाधिकारीले सहयोगका लागि आग्रह गरेका छन् ।
धामका पदाधिकारीहरुले देवचुली १ केउरेनीस्थित नारायणी किनारमा अवस्थित दिब्यधाममा सुविधायुक्त बृद्धाआश्रमको आवश्यकता औल्याएका थिए ।
दिब्यधाम अवलोकनका क्रममा स्थानीयको आग्रह सुनेका सभामुख धितालले आफ्नो ध्यानाकर्षण भएको बताए ।
नवलपुर क्षेत्रकै धार्मिक स्थलमध्येको दिब्यधाममा मूल मन्दिरका रुपमा विष्णु प्रतिक बैकुण्ठ (बुढानिलकण्ठ) मन्दिर रहेको छ ।
दिब्यधाम परिसरमा गणेश, आराध्यदेव शिव, १०८ शिवलिङ्ग, हनुमान, नाग, नवग्रहका मूर्तिहरु प्रतिस्थापित छन् ।
नारायणीमा एकादशी गंगा स्नान गर्न आउने श्रद्धालुहरुको भीड लाग्ने दिब्यधाममा नेपाली नयाँ वर्ष, साउनमा पर्ने हरेक सोमबार, छठ, बालाचतुर्दशी, शिवरात्री, रामनवमी लगायतका विशेष पर्वमा श्रद्धालुको आगमन हुने गर्दछ ।
रुद्री, पुटक, ग्रहशान्तिका जस्ता ससाना पारिवारीक कार्यका साथै बिबाह, वर्तबन्ध जस्ता संस्कार गर्ने उपयुक्त स्थानका रुपमा बिकास हुदै गरेको दिब्यधाम क्षेत्र नजिकै दाहसंस्कार स्थल पनि छ ।
सत्संग, भजनकिर्तन गर्न, ज्येष्ठ नागरिकहरु भेला भएर भक्तिभावमा रमाउन, विवाह बर्तबन्ध जस्ता कार्यका लागि आउनेहरुको सुविधाका लागि र धार्मिक सभा–समारोह गर्न मिल्ने र आवश्यक परेका वेला यहाँ आउने साधु–सन्तहरुको विश्राम स्थलका रुपमा सुविधासम्पन्न पुर्वाधार निर्माण गर्ने उदेश्य रहेको दिब्यधाम ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणराज भण्डारीले सुनाए ।