माघ ३०, नवलपुर । आठौं नवलपुर महोत्सवको छैटौं दिन बुधबारको साँस्कृतिक मञ्चमा कलाकारहरु शान्तारानी परियार, अस्मी थापा, जिबी सुनार, बबिता धिताल शितल पौडेल र साथमा अर्जुन कण्डेलका प्रस्तुतिहरु रहने छन् ।
नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोती १६ डण्डास्थित अंकुर आदर्श सामुदायिक बन क्षेत्रको मैदानमा फागुन १० गतेसम्म चल्ने महोत्सवमा अतिथि कलाकारका साथै राष्ट्रिय स्तरको लोक दोहोरी गीत प्रतियोगिता, जिल्लास्तरीय रत्यौली प्रतियोगिता र नवलपुर डान्स आइडलका प्रतियोगितात्मक प्रस्तुतिहरुको तालिका रहेको साँस्कृतिक संयोजक डाँसुराज पोख्रेलले बताएका छन् ।
बुधबारको औपचारिक मञ्चीय समारोहको प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेश कृषि तथा भूमि ब्यवस्थापन मन्त्री पद्मा जिसी श्रेष्ठको आगमन हुने नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोख्रेलले जानकारी दिएका छन् ।
कृषिमन्त्री पद्मा जिसीले महोत्सवमा प्रतियोगितात्मक प्रदर्शनीमा राखिएका स्थानीय कृषि उपज, विउविजन र कृषिजन्य उत्पादनका साथै विक्रीका लागि राखिएका घरेलु औजार–सामग्रीको अवलोकन गर्ने तालिका रहेको पनि आयोजकले जनाएको छ ।