जिविकोपार्जन र उद्यमशीलताका लागि कारितासको पाठशालाः उपप्रमुख खेतमा, कृषक उत्साहित

0 Shares

खगेन्द्र पराजुली, फागुन २, देवचुली । देवचुली १ का महिला कृषकले आइपीएम कार्यक्रममार्फत सञ्चालित कृषि बाली छनोट प्रयोगात्मक पाठशालाको अनुगमन, मुल्यांकन र अन्तरक्रिया भएको छ ।
बाली अवधि एकिकृत शत्रु जीव ब्यवस्थापन कृषक पाठशालाका सैद्धान्तिक र प्रयोगात्मक सिकाइका उपलब्धि, समस्याका बारेमा कृषक, जनप्रतिनिधि र आर्थिक, प्राविधिक र पाठशाला सिकाइ तालिममा सहयोग सहकार्य गर्दै आइरहेको कारीतास नेपालका प्रतिनिधिबीच दोहोरो अन्तरक्रिया भएको हो ।
कारीतास नेपालका कार्यक्रम संयोजक हरिशसिंह कुँवरको अध्यक्षता तथा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा सहभागीहरुले वजारीकरण र सिचाइ प्रमुख समस्या रहेको बताएका छन् ।
पाठशाला सिकाइका क्रममा सिकेका र सो अवधिमा महशुस भएका समस्या समेत राखेका कृषकहरुले प्रतिकुल मौषममा लाग्ने रोग–प्रकोप र किरा ब्यवस्थापन, पहिचान र उपचारका बारेमा भोगेका समस्या पनि राखेका थिए ।
कारीतास नेपालले गर्दुवा÷भटक र सफारीचोकका महिलाहरुलाई जिविकोपार्जन र उद्यमशीलता बिकासको उदेश्यका साथ सामुहिक रुपमा गरिएको अभ्यासबाट समग्रमा धेरै प्राविधिक ज्ञान आर्जन गरेको बताएका समूहमा आवद्ध महिला कृषकले बजार ब्यवस्थापन र सिचाइ प्रवन्ध गर्न सके ब्यवसायिकतातर्फ लाग्न सकिने उत्साहित भनाई राखेका थिए ।
अन्तरक्रियामा आएका कृषकका गुनासा र समस्यामा नगरपालिकाका तर्फबाट गर्नुपर्ने पहल गरिरहेको उपप्रमुख पार्वता तिवारीले बताइन् ।
कारीतास नेपालका राजन राईले दोहोरो अन्तरक्रियालाई सहजीकरण गरेका थिए भने कारितास नेपालकी कौशिला सापकोटाले कृषक लक्षित आइपिएम पाठशालाका बारेमा बताएकी थिइन् ।
यहाँ महिलाहरुले काउली र गोलभेंडा खेती सम्वन्धि आइपिएम अभ्यास गरेका छन् । फरक–फरक जात, भिन्न–भिन्न मलखाद प्रयोग, रोग–किराको प्रकोप, उपचार–विधि, सिचाइ–गोलमेड लगायतका बाली अवधिभरिको बाली चक्रको परिक्षण, अध्ययन गरी जलबायु अनुकुलको बाली छनोटका लागि पाठशालाको प्रभाव फलदायी देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप