खगेन्द्र पराजुली, नवलपुर ।
दोस्रो देवचुली गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेल योङ स्टार कावासोतीले जितेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा नगर रंगशालामा शनिबारदेखि सञ्चालित प्रतियोगिताको दोस्रो खेल ट्राइब्रेकरमा जित निकाल्दै कावासोतीको योङ स्टार क्लव अगिल्लो चरणमा प्रवेश गरेको हो ।
आइतबार भएको खेलमा चितवनको एभरेष्ट फुटबल क्लवसँग १–१ गोलको वरावरी भएपछि खेल ट्राइव्रेकरमा धकेलिएको हो ।
योङस्टार कावासोतीका बिकेश थापाले एक गोल गर्दै खाता खोलेका थिए । एक गोलको अग्रतामा खेलिरहेको योङ स्टारका खेलाडीको फितलो रक्षाका कारण आत्मघाती गोल ब्यहोर्दा ट्राईब्रकर खेल्नुपरेको थियो ।
आइतबारको खेलमा योङस्टार कावासोतीका बाबुराम महतो मेन अफ द म्याच भए ।
देवचुली गोल्डकको तेस्रो दिन सोमबार पर्वतको पैयु गाउँपालिकाको टीम र नारायणी फुटबल क्लब चितवनबिच प्रतिस्पर्धा हुने तालिका छ ।
३ लाख रुपैंया प्रथम पुरस्कार रहेको देवचुली गोल्डकपमा १४ टिम खेल्नका लागि दर्ता भएका छन् । प्रतियोगितामा १ लाख ५० हजार रुपैया दोस्रो पुरस्कार रहेको छ भने सेमीफाइनल हुने २ टीमलाई प्रोत्साहन स्वरुप २५–२५ हजार रुपैंया पुरस्कार रहेको छ ।
हरेक प्रतिस्पर्धात्मक खेलका मेन अफ द म्याचलाई आयोजकले दैनिक सम्मान–पुरस्कृत गर्नेछ । समापनमा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि आयोजकले पुरस्कारको व्यवस्था गरेको छ ।
आइतबारदेखि खेल हेर्न जाने खेलप्रेमी दर्शकले टिकट काट्नुपर्नेछ । आयोजकले प्रवेशका लागि ५० रुपैंयाको टिकट र मोटरसाइकल पार्किङको २० रुपैंया शुल्क लिएको छ ।
युवा, जनप्रतिनिधि, युवा तथा खेल क्षेत्रका पदाधिकारी, खेलप्रेमी दर्शकहरुले आइतबारको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको मज्जा लिएका थिए ।