नवलपुर ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर क्षेत्र नम्बर २ मा चुनावी माहोल तातिएको छ । नेकपा एमालेका उम्मेदवार तिलक महत यतिबेला घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन् ।
गाउँ–टोलदेखि बजारसम्म पुगेका महतले आफू मतदाताको रोजाइमा परेको दाबी गर्दै भरोसा जित्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्न भ्याएका छन् । ।
घरदैलोका क्रममा मतदाताबाट उत्साहजनक र सकारात्मक प्रतिक्रिया पाएको बताएका महतले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएकाले त्यो भरोसा कुनै पनि हालतमा नतोड्ने बाचा गरेका छन् ।
तिलक महतले नवलपुर–२ को समग्र विकासका लागि आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । महतले आफू जनताको प्रतिनिधि हुँदा र नहुँदाको फरक जनताले महसुस गरिसकेको दाबी गरे । “सदनमा होस् या सडकमा, मैले सधैं नवलपुरको आवाज बुलन्द गरेको छु । यसपटक अझ सशक्त ढंगले विकासको एजेन्डा अघि बढाउनेछु,” उनले भने ।
नवलपुरको कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, गुणस्तरीय शिक्षा, खेलकुद पूर्वाधार विस्तार र दिगो पूर्वाधार विकास आफ्नो प्राथमिकतामा रहने महतले बताए । महतले जिल्लाका जटिल समस्या र सम्भावनाबारे आफू पूर्ण जानकार रहेको बताउँदै ती मुद्दा केन्द्रसम्म पु¥याई समाधानका लागि निर्णायक पहल गर्ने प्रतिवद्धता पनि गरेका छन् ।
बिहीबार कावासोती, मध्यविन्दु लगायतका क्षेत्रमा पुगेर महतले मतदातासँग सुझाव संकलन गरेका हुन् ।
जनताको सपना र आवश्यकतालाई आफ्नो चुनावी योजना बनाउने बताएका महतले नवलपुरको समृद्धि यात्रामा सबैलाई साथ दिन आह्वान पनि गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा नवलपुर–२ मा तिलक महतको सक्रियता र जनसम्पर्क अभियानले चुनावी माहोल थप तातेको छ ।