देवचुली ३ मा भयो एक दिवसीय महिला सशक्तिकरण गोष्ठी

0 Shares

नवलपुर । दिब्यपुरी भूपू सैनिक जनकल्याण समूह देवचुली ३ ले एक दिवसीय महिला सशक्तिकरण गोष्ठी गरेको छ । शुक्रवार देवचली ३ स्थित बहुउदेशीय योग तथा सामुदायिक भवनमा एक दिने महिला शसक्तिकरण गोष्ठी गरेको हो ।

संस्थाका अध्यक्ष देबेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय गाउँपालिका महासंघकी अध्यक्ष एवम् हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि पाण्डेले महिला नेतृत्व बिकासबाटै समाजमा हुने विभेद, हिंसा र अपराधमा न्यूनीकरण हुने तर्क गरिन् । उनले अपराध भएपछि पुलिस, कानूनको मदत सहारा खोज्ने परिपाटीको अन्त्य गर्ने सामर्थ्य सचेतनामूलक सामाजिक कार्यक्रममा हुने जिकिर गरिन् ।

प्रशिक्षणमुलक गोष्ठी पूर्व भएको उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाईटी कावासोती उपशाखाका अध्यक्ष ऋषि कण्डेल, देवचुली ३ र ७ का वडाअध्यक्षद्धय होमनाथ पौडेल, भुमिसरा थापा लगायतले विषय केन्द्रित शुभकामना भनाई राखेका थिए । वक्ताहरुले नेतृत्व तहमा महिलाको पहुँच न्यून रहेको अनुभव सुनाए । उनीहरुले महिलाहरुको क्षमता नेतृत्व बिकासका लागि अवसर, समय र प्रेरणा महत्वपूर्ण हुने भनाई राखे ।

दिब्यपुरी भूपु सैनिक जनकल्याण समूहको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी प्रगतिनगर उपशाखाको सहयोगमा आयोजित अभिमुखीकरणमा विजय बिकास स्रोत केन्द्रका पूर्व अध्यक्ष लक्ष्मी गौतमले महिला शसक्तिकरण, नेतृत्व, क्षमता बिकासका सवालमा र जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख विन्दु बिकले जिल्लामा महिला हिंसा, अपराधको अवस्था, कानूनी सचेतना, मेलमिलापका अभ्यास, राज्यले महिलालाई राखेको प्राथमिकता र लैंगिक हिंसा, विभेदका बारेमा अभिमुखीकरण गरेका थिए ।

स्थानीय आमा समुह, भुपु सैनिक समुहमा आवद्ध सदस्य र तिनका परिवारबाट गोष्ठीमा प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप