देवचुली । देवचुली-१६ मा सम्पन्न वडास्तरीय फुटवल प्रतियोगितामा वडा नं. १६ ए ले प्रथम स्थानमा वाजी मारेको छ । सोमवार भएको फाइनल खेलमा वडा नं. १७ लाई १-० गोल अन्तरले पराजित गर्दै वडा नं. १६ प्रथम भएको हो । पहिलो हाफको ३७ औं मिनेटमा वडा नं. १६ का जर्सी नं. १३ का खेलाडी राजीन अधिकारीले गरेको एक गोल नै निर्णायक बन्यो ।
यो जितसँगै वडा नं. १६ ले नगद ५१ हजार १ सय ११ राशी पुरस्कार शिल्ड र खेलाडीहरुले मेडल प्राप्त गरे ।
उपविजेता बन्दै दोस्रो स्थानमा चित्त बुझाएको वडा नं. १७ ले २५ हजार ५ सय ५५ राशीको पुरस्कार शिल्ड र मेडल हात पान्यो।
यस्तै, सेमिफाइनल खेलेका दुई समूह वडा नं. ३ र १६ बी ले सान्त्वना स्वरूप ५/५ हजार राशी पुरस्कार पाए ।
चैत २३ गतेदेखि देवचुली मावि रजहरको खेल मैदानमा सञ्चालित वडास्तरीय पुरुष भलिवल फुटबल प्रतियोगिताम नगरभित्रका १६ टीमले भाग लिएका थिए।
वडा युवा तथा खेलकुद विकास समिति देवचुली-१६ को आयोजना तथा धुसेरी सामुदायिक वन र लायन्स क्लव अफ रजहर सिटीको सह-आयोजनामा भएको समापन सत्रमा बोल्दै नगर प्रमुख हरि प्रसाद न्यौपानेले नगरभित्रका केही खेलाडीहरूले राष्ट्रिय अन्तराष्ट्रिय स्तरका प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै पहिचान राख्न र ख्याति कमाउन सफल भएको दृष्टान्त दिए । उनले खेलाडीहरुको अनुशासन नै विजय र पहिचानको कडी भएको वताए । नगर प्रमुख न्यौपानेले प्रतिभा पहिचान खेल प्रवर्द्धन र खेलाडीको क्षमता विकासमा नगरपालिकाले मुल्यांकनका आधारमा सक्दो सहयोग गर्ने भनाई ब्यक्त गरे ।
वडा नं. १६ खेलकुद विकास समितिका अध्यक्ष जानन्द वानियाको अध्यक्षतामा भएको समापन सत्रको सञ्चालन नगर युवा तथा खेलकुद विकास समितिका सदस्य-सचिव प्रकाश काफ्लेले गरेका थिए ।