जिल्ला सभामा जनप्रतिनिधिको एउटै स्वर नवलपुर जिल्ला नामाकरण हुनुपर्यो

0 Shares

कृष्ण कण्डेल, असार २८ ।
नवलपुर । मुलुकमा स्थिरता, सुशासन, विकास र समृाद्धिको लागि निर्वाचन प्रणाली लगायत कतिपय विषयमा संविधान ंसंशोधन गर्ने चर्चाले यतिबेला नेपालको राजनीति तातेको छ । नयाँ सत्ता सहकार्य मै दुई ठुला दल काँग्रेश र एमालेविच संविधान संशोधनको सहमति भएको भनिएका वेला नवलपुरमा भने जिल्लाको नाम नवलपरासी बर्दघाट सुस्तापुर्व हटाएर नवलपुर कायम गर्न तत्काल दवाव बढाउनुपर्ने आवाज उठेको छ ।
जिल्ला समन्वय समिति नवलपुरको सातौँ जिल्ला सभामा वोलेका वक्ताहरुले संविधान सशोधनको मेसोमा जिल्लाको नामाकरण नवलपुर कायम गर्न दवाव सहितको समन्वयात्मक पहलकदमी लिन सुझाव दिएका हुन् ।
विहिबार कावासोतीमा भएको कार्यक्रममा जिल्ला सभा सदस्य तथा विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले संविधान बनेको यतिका वर्षसम्म नवलपरासी वर्दघाट सुस्ता पूूर्व लेख्न र भनिरहन झन्झट भएको भन्दै संविधानमै नवलपुर जिल्ला कामय गराउन नतिजा देखिने गरि पहल गर्नुपर्ने बताए ।
अर्का जिल्ला सभा सदस्य तथा कावासोती नगरपालिका प्रमुख विष्णुप्रसाद भुसालले पनि यसैमा जोड दिँदै जिल्ला समन्वय समितिलाई यस कार्यको पहलकदमी लिन आग्रह गरे ।
यस्तै जिल्ला सभा सदस्य तथा मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारी र देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपाने समेतले यसैमा सहमति जनाए । उनीहरुले प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय सरकार तथा सरोकारवालसँग समन्वय गरि संविधान संसोधन हुँदा संघीय संरचनामा नवलपरासीबाट छुट्याईएको पुर्वी भागलाई नवलपुर जिल्ला मात्र लेख्न मिल्ने गरि प्रस्ताव पारित गराउन दवाव पुर्याउनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्माले मुलुक संघीय संरचनामा गएको एक दशक सम्म पनि कान्छो जिल्लाको नामाकारण समेत हुननसक्नु दुखद भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री रोशनबहादुर गाहाले कतिपय नीतिगत जटिलताका कारणले सामान्य जस्तो लाग्ने विषय पनि लामो समयसम्म अल्मलिने भन्दै जिल्लाको नामाकरण समेत यस्तै भएको बताए । संविधान सभा सदस्य समेत रहेका सांसद गाहाले नवलपुरबाट प्रनिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरुको भुमिका अझ महत्वपूर्ण हुने उल्लेख गरे ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नवलपुर जिल्लाको भविष्य निर्माणको चिन्ता जननिर्वाचित प्रतिनिधिहरुले नै लिनुपर्नेमा जोड दिए । उनले न्यायपूर्ण र सन्तुलित विकासले मात्र समृद्धिको सपना साकार हुने भन्दै सार्वजनिक सरोकार अन्तर्गतका जिल्लाका हरेक मुद्धामा पहलकदमी लिन आफु प्रतिवद्ध रहेको बताए । जिल्लाको नामाकरणलाई संविधानमा समावेश गर्न धेरै ढिलो भएको भन्दै विश्वकर्माले यसका लागि केन्द्रमा दवाव बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा उनले चालु आर्थिक वर्षको जिल्ला समन्वय समितिको प्रगति विवरण र आगामी योजना प्रस्तुत गरेका थिए ।
सभामा बोलेका वक्ताहरुले नमुना जिल्ला सदरमुकाम, नदीजन्य पदार्थको व्यवस्थापन र उपभोग, त्रिवेणी दुम्कीबास सडकको जटिलता फुकाउने, , त्रिवेणी भन्सार सुधार, व्यवस्थापन र स्तरोन्नती, लोकाहा औद्योगिक क्षेत्र निर्माण, धोवादी फलाम खानी उत्खनन्, नारायणगढ वुटवल सडकको पूर्णता लगायत नवलपुरका मुख्य मुद्धाहरु हल गर्न समन्वयको खाँचो औँल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप