खगेन्द्र पराजुली, साउन ११ ।
देवचुली । सामाजिक सेवाको उदेश्यका साथ स्थापित सुनौलो भविष्यको लागि सानो पाइला नामक संस्थाले जनज्योति आदर्श बहुमुखी क्याम्पसमा परिचयात्मक कार्यक्रम गरेको छ । क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष होमनाथ जैसीको अध्यक्षता तथा सुनौलो भविष्यका लागि सानो पाइलाका प्रतिनिधिहरुको आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालय जाने उमेरका गरीव, विपन्न वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन गर्न सकिने पहलका विषयमा चर्चा गरिएको थियो ।
देवचुली १५ प्रगतिनगरमा रहेको जनज्योति क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जीवनराम अधिकारीको संरक्षकत्वमा सामाजिक सेवाका गतिविधि सञ्चालन गर्ने उदेश्यले स्थापित र सञ्चालित संस्थाले प्रगतिनगर क्षेत्रका सामुदायिक विद्यालयमा पढ्ने, आर्थिक समस्याका कारण विद्यालय नै जान नसकेका वालवालिका लक्षित छात्रवृत्तिलाई प्रभावकारी कार्यान्वयनका लागि पनि संस्था परिचयको कार्यक्रम गरिएको संस्थाका प्रवन्धक÷प्रोमोटर प्रदीप अधिकारीले बताए ।
कोभिड महामारीभन्दा अगाडीसम्म बेला बेला विभिन्न विद्यालयमा करीव ४ सय हाराहारी विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण र २०७२ सालको भुकम्पमा समेत भुकम्प प्रभावितलाई आधारभूत सहयोगमा हातेमालो गरेको संस्थाले कोभिडलगत्तै कोषमा देखा परेको आर्थिक अभावका कारण क्रियाशिल हुन नसकेको तर छात्रवृत्ति कार्यक्रम पुनः सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
हाल अमेरिकामा रहेका प्रदीपले आफु पढेको, हुर्केको ठाउँका बालवालिकालाई प्रोत्साहित गर्न र अमेरिकामै हुर्किएका नेपाली सन्ततिहरुलाई मातृभूमिप्रतिको माया, सामाजिक उत्तरदायित्वको बोध र मौलिक सभ्यता संस्कारमार्फत भावनात्मक रुपमा जोड्न चाहेको उनी बताउँछन् ।
संस्थामा स्थिर पूँजी नरहेको बताएका उनले बिशेषगरी अमेरिकामै ब्यवस्थापन गरिने स्वेच्छिक सहयोगमार्फत अभियानमा जोडिने गरेको प्रदीप बताउँछन् ।
कार्यक्रममा वडा नं. १०, १४, १५ का वडाअध्यक्ष, क्याम्पस ब्यवस्थापनका पूर्व तथा वर्तमान पदाधिकारी, प्रगतिनगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं ब्यवस्थापन पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।