मित्र खरेल, साउन १२ ।
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं. १७ ले १ सय ५० परिवारलाई स्वास्थ्य विमा कार्यक्रममा आवद्ध गरेको छ । वडाभित्रका दलित, विपन्न र गरिव परिवारका सदस्यको एक वर्षका लागि स्वास्थ्य विमा गरेको हो । विमाको प्रक्रिया पुरा गरे लगत्तै वडाले उनीहरुलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरी विमा कार्ड प्रदान गरेको हो ।
स्वास्थ्य सेवालाई सर्वसुलभ ढंगले सवै नागरिकको पहुँचमा पुर्याउने उदेश्यका साथ गरिव, विपन्न र दलित परिवारका सदस्यहरुलाई स्वास्थ्य बिमामा आवद्ध गरिएको वडा अध्यक्ष गोपी कंडेलले बताए । उनले दलित, विपन्न र गरिव परिवारलाई प्राथमिकतामा राखेर ल्याईएको कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाले विनियोजन गरेको वडाको बजेट अन्तर्गत गरिव, विपन्न र दलित परिवारका लागि स्वास्थ्य विमा कार्यक्रम शिर्षकको ४ लाख वजेटले विमा गरिएको वडाअध्यक्ष कंडेलले जानकारी दिए ।
७२÷२८ प्रतिसतको मापदण्डमा उनीहरुको स्वास्थ्य बिमा गरिएको हो । विमा वापत लाग्ने पूरै शुल्क वडाले उपलब्ध गराएको भएपनि सुविधा प्राप्त विमितका प्रति परिवार १ जनाले वडाले माग गरेको बेला एक दिनको श्रम गर्नुपर्ने हुन्छ । उनीहरुले गर्ने श्रमबाट उक्त २८ प्रतिसत रकम अर्थात १ हजार रुपैया विमित परिवारको दायित्व मानिने वडाअध्यक्ष कंडेल बताउँछन् ।
स्वास्थ्य विमा गरेबापत लाग्ने रकमको ७२ प्रतिसत रकम वडाले दायित्व ग्रहण गरेको वडा सचिव सुमन पौडेलले जनाए । स्वास्थ्य विमा निर्देशिकाले निर्दिष्ट गरेको बढीमा ५ जनाको परिवारका लागि लाग्ने रकम ३ हजार ५ सय र एक परिवारमा ५ जना भन्दा धेरै भएमा प्रतिब्यक्ति लाग्ने थप ७ सय रुपैंयामा समेत ७२ प्रतिसत रकम वडाले वेहोरेको पौडेलले स्पष्ट पारे ।
विमा कार्ड वितरण गर्नुपुर्व स्वास्थ्य विमा अभिकर्ता मानकुमारी सापकोटा कंडेलले बिमा लागु हुने र समाप्त हुने समय, औषधि, उपचार र प्रयोगशालाबाट पाउन सकिने सुविधा र प्रक्रियाका बारेमा अभिमुखीकरण गरेकी थिईन् ।
कुल ५ सय १ घरधुरी रहेको वडा नं. १७ मा यसअघि करीव १ सय ५० परिवारले स्वास्थ्य विमा सुविधा उपभोग गरेका स्वास्थ्य विमा अभिकर्ता सापकोटाले बताईन् । त्यसवाहेक स्वास्थ्य विमा निर्देशिका अनुसार वडाभित्रका ९ जना रातो कार्ड बाहक अपाङ्गता भएका नागरिकका परिवार बिमा कार्यक्रम लागु भएदेखि नै निशुल्क रुपमा जोडिएका छन् भने निलो कार्ड वाहक ७ जना र ज्येष्ठ नागरिक ४५ जनाले निशुल्क सुविधा लिएका सापकोटाले जानकारी दिईन् ।