देवप्रगति सेभेन ए साइड फुटबलः शुक्रबारदेखि प्रि क्वाटर शुरु

0 Shares

खगेन्द्र पराजुली, असोज १८ ।
देवचुली । देवचुलीमा जारी प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबारदेखि प्रि क्वाटर चरणका खेल हुनेछन् । प्रतियोगितामा शुक्रबारदेखि प्रि क्वाटरका प्रतिस्पर्धा हुने आयोजक देवप्रगति युवा समाजका अध्यक्ष त्रिलोचन पराजुलीले जानकारी दिए ।
समाजका अध्यक्ष पराजुलीका अनुसार खेल शुरु भए लगत्तै परेको अविरल बर्षाका कारण २ दिन खेल रोकिदा प्रतियोगिता समयमै सम्पन्न गर्न दवाव परेकाले निर्धारित तालिका परिवर्तन गरी एकैदिन धेरै खेल खेलाउनुपरेको हो ।
असोज ९ गतेबाट शुरु भएको प्रतियोगितामा बिहीबारसम्म २८ टीमले खेलिसकेका छन् । शुक्रवार दिउँसो २ बजे हुने पहिलो खेलमा हुप्सेकोटको बेलुवा फुटबल क्लव र कावासोतीको स्याउली फुटबल क्लव भिड्नेछन् भने ३ बजे देवचुलीको प्रगति कला मन्दिरको बी समूह र देवचुलीकै रजहरको फारम खेलकुद समितिबीच दोस्रो प्रतिस्पर्धा हुनेछ ।
यस्तै ४ बजेका लागि चितवनको योङ ब्वाइज र कावासोती ४ हसौराको बालस्टार क्लवबीच तेस्रो खेल हुनेछ । शुक्रबारको अन्तिम तथा चौथो प्रि क्वाटर प्रतिस्पर्धा कावासोती ७ को भगवती एकता युवा क्लव र देवचुली कैलाशचोकको प्रगति कला मन्दिर समूह ए बीच हुने खेल संयोजक अर्पण सुवेदीले जानकारी दिए ।
विजया दशमीको अवसर पारेर देवचुली ७ रामबासस्थित भीमसेन मावि खेलमैदानमा सञ्चालित प्रतियोगितामा प्रथम पुरस्कार राशीका साथ सेन्ट्रल कलेजले मुख्य प्रायोजन गरेको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ र द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाका साथै ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेण्डर र सर्वाधिक गोलकर्ताका लागि पनि पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप