खगेनद्र पराजुली, असोज १९ ।
देवचुली । प्रगतिनगर साना किसान सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा भएको छ । शुक्रबार दलदलेमा सम्पन्न साधारण सभामा सहकारी संस्थाका अध्यक्ष रुमाकला काफ्लेको अध्यक्षता तथा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभामा बोलेकी उपप्रमुख तिवारीले प्रगतिनगरमा सञ्चालित साना किसानले सहकारीका माध्यमबाट महिलाहरुलाई उद्यम र उत्पादनसँग जोड्न खेलेको भूमिकाको प्रशंशा गरिन् । उनले प्रगतिनगर साना किसानले प्राथमिकताका साथ गर्ने गरेका कार्यक्रमका धेरै विषयहरु नगरपालिकाका कार्यक्रमहरुसँग पनि मेल खाने भएकाले उत्पादन, उद्यम–क्षमता विकास, पुरस्कार प्रोत्साहन जस्ता विषयमा सहकार्य गर्न सकिने बताईन् ।
सभामा गत आर्थिक वर्षको प्रगति र चालु वर्षका लागि प्रस्ताव गरिएका कार्ययोजना शेयर सदस्यबीच छलफल भएको संस्थाकी प्रवन्धक बिमला गैरेले जानकारी दिईन् ।
कृषि क्षेत्रका धेरै विधालाई प्राथमिकतामा राख्दै भावी कार्ययोजना पेश गरेकी अध्यक्ष रुमाकला काफ्लेले महिलाहरुलाई आर्थिक सामाजिक रुपमा बलियो बनाउन विभिन्न आयमुलक तालिम कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरिन् । ति कार्यक्रमहरुमा पशुपालन, तरकारी खेतीका तालिम, पशुधन सुरक्षणको बिमा कार्यक्रमको निरन्तरता, गोठ सुधार, सस्तो ब्याजमा तरकारी खेती कर्जा, ६ वटा आय आर्जनका समूहका लागि २ कर्षका लागि निब्र्याजी बीउपूजी, अनुदानमा तरकारी बालीको बीउ, स्प्रे ट्यांकी, मकै रोप्ने मेसिन वितरण जस्ता कार्यक्रमलाई प्रवद्र्धनाच्मक कार्यक्रम समेटिएको छ ।
यस्तै, शेयर सदस्य, कर्मचारी र सञ्चालक समितिको क्षमता नेतृत्व बिकास र सहकारी शिक्षा चेतना लक्षित भाषणकला तालिम, अवलोकन भ्रमण, सहकारी शिक्षा तालिमका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गर्ने बुँदा पनि दशौं वार्षिक साधारण सभामा अध्यक्ष काफ्लेले प्रस्तुत गरेकी छन् ।
संस्थाको बृत्ति बिकास र वित्तीय सुशासन कायम गर्नका लागि सदस्य र समुह बिस्तार गर्ने, आवश्यकता पहिचान गरी ऋण लगानी गर्ने, कर्जाको भाखा नाघेका समूह वा सदस्यलाई ऋण लगानी नगर्ने, कर्जा अनुगमनलाई तिव्रता दिने, जस्ता प्रस्ताव आएका हुन् ।
साधारण सभाका अवसरमा सतप्रतिसत असुली अन्तर समूहका रुपमा उत्कृष्ट वडा नं. ७ को अन्तर समूह न.. ६ सहित १३ विधाका उत्कृष्ट शेयर सदस्य प्रमाण पत्र सहित पुरस्कृत, सम्मानित भए ।
देवचुली नगरपालिका कार्यक्षेत्र रहेको प्रगतिनगर साना किसान सहकारी संस्थामा हाल २ सय ६७ अन्तर समूहमा १ हजार ५ सय २२ शेयर सदस्य छन् । नवौं साधारण सभामा २ सय २२ समुह र १ हजार ३ सय ३० सदस्य रहेको संस्थाले एक वर्षको अवधिमा १ सय ९२ सदस्यसहित ४० समूह विस्तार गरेको छ । यसवर्ष संस्थाले १ सय समूह विस्तार गर्ने लक्ष्य लिएको छ ।