खगेन्द्र पराजुली, असोज २० ।
देवचुली । प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको क्वाटर फाइनल समीकरण पूरा भएको छ । भीमसेन मावि खेल मैदानमा भएको प्रतिस्पर्धाबाट ३ वटा देवचुलीका फुटबल क्लव र कावासोतीको एउटा समूह सेमीफाइनल प्रवेश गरे ।
क्वाटर फाइनल खेलेकामध्ये आयोजक देवप्रगति युवा समाज सहित देवचुलीको प्रगति कला मन्दिर ए, कावासोती ४ हसौराको बालस्टार युवा क्लव र देवचुली ६ को साथीभाई युवा क्लव सेमीफाइनलमा पुगेका छन् ।
पहिलो क्वाटर फाइनलमा हुप्सेकोट १ बेलुवाको द टाइगर युवा क्लवलाई प्रगति कलाले ४–० को स्कोर सहित सहज जित निकाल्यो । प्रगति कलाका लागि प्रभु श्रेष्ठले २ गाल गर्दा सुमन आले र दिपिन राना मगरले १–१ गोल थपे ।
यस्तै, रजहरको अभिषेक चर्च र हसौराको बालस्टारबीच भएको दोस्रो प्रतिस्पर्धामा पनि ४–० कै अन्तरमा बालस्टारले जित निकाल्दै सेमी फाइनलको यात्रा तय गर्यो । बालस्टारका खेलाडी सर्जित गुरुङ एक्लैले ३ गोलका साथ ह्याट्रिक गरे भने अर्का खेलाडी आशिष महतोले १ गोल गर्दै आफ्नो टीमको खातामा ४ गोल कायम गरे ।
आइतबार भएको तेस्रो खेलमा आयोजकको टीम देवप्रगति लेजेण्टलाई साथीभाईका खेलाडी निरज महतोले हानेको एक गोल नै सेमीफाइनल प्रवेशका लागि निर्णायक बन्यो ।
क्वाटर फाइनलको अन्तिम तथा चौथो खेल खेलेको आयोजककै देवप्रगति युवा समाजले रजहरको फारम फुटबल समितिलाई ३–० गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गर्यो । आयोजकका लागि नविन मगरले २ गोल गरे भने सन्दीप मल्ल ठकुरीले १ गोल हानेका छन् ।
आइतबारको प्रतिस्पर्धामा प्रगति कलाका सदिप क्षेत्री, बालस्टारका सर्जित गुरुङ, साथीभाईका निरज मगर र देवप्रगतिका नविन मगर म्यान अफ द म्याच भए ।
सोमबार सेमीफाइनलका दुबै खेल हुनेछन् । दिउँसो ३ बजे पहिलो सेमिफाइनलमा प्रगति कला र बालस्टारबीचको प्रतिस्पर्धा हुनेछ भने साढे ४ बजे हुने दोस्रो प्रतिस्पर्धामा साथीभाई र आयोजक देवप्रगति भिड्नेछन् ।
सोमबारको सेमीफाइनल लगत्तै मंगलबार समापन समारोहकाबीच फाइनल खेल हुने तालिका छ ।
विजया दशमीको उपलक्ष्यमा देवप्रगति युवा समाजको आयोजनामा सञ्चालित प्रतियोगितामा ३० टीमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम र द्वितीय हुने विजेता टीमका लागि ५५ हजार ५ सय ५५ र ३३ हजार ३ सय ३३ राशीको पुरस्कार रहेको छ ।