नव नेपालमा बुक फ्रि फ्राईडेः मादले दाईले सिकाए मादलका आधारभूत सुत्र

0 Shares

कार्तिक १०, देवचुली ।
देवचुली नगरपालिकाले २०७९–८० मा बनाएको विद्यालयमा शुक्रबार बुक फ्रि डेको नीतिलाई धेरै विद्यालयले निरन्तरता दिन नसक्दा देवचुली १० भगवतीटोलको नव नेपाल आधारभूत विद्यालयले भने निरन्तरता दिएको छ ।
पाकशिक्षा, कृषि करेशावारी, प्लम्विङ सम्वन्धि आधारभूत ज्ञान सीपका साथै संगीत तथा नृत्यतर्फ रुची भएका बालबालिकालाई सोही क्षेत्रसँग सम्वन्धित प्राविधिक प्रशिक्षकले स्वयंसेवी रुपमा विद्यार्थीलाई ज्ञान, सीपका बारेमा सहजीकरण गर्ने गरेका छन् ।
यसैबीच, कार्तिक ९ गते शुक्रवार लोक भजनका स्थानीय वाद्यबादक रुक्मागत पाण्डे र राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सह कोषाध्यक्ष एवं राष्ट्रिय स्तरका मादल बादक ईश्वरीप्रसाद भुसालले मादलका सुर–ताल, लयका बारेमा आधारभूत ज्ञान–सूत्र सहित प्रयोगात्मक अभ्यास गराए ।
शुक्रबार नियमित भइरहने यस्ता गतिविधिले जीवनको उत्तराद्र्धसम्म उपयोगी सीप र कर्मप्रतिको बोध बालबालिकामा जागृत हुने अपेक्षा गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद भटराईले विश्वास लिएका छन् ।
शुक्रबारीय क्रियाकलापमा बिद्यार्थीले रुची र उत्साहपूर्वक सहभागिता जनाउने गरेका प्रधानाध्यापक रामप्रसाद गौतमले बताए ।
विशेषगरी कक्षा ४–५ मा पढ्ने बालबालिकाले करेशाबारी निर्माण, घर तथा विद्यालयमा आउने धाराका सामान्य समस्यामा हाते औजारको प्रयोग र समस्या समाधान, खाजा–खाना बनाउने समयमा भान्सामा अभिभावकसँग सिक्न उत्साहित हुने गरेका संकेतहरु देखिएका प्रधानाध्यापक गौतम बताउँछन् ।
विद्यालयमा हुने यस्ता क्रियाकलापमा कृषि करेशाबारीका विषयमा कृषि शाखा देवचुलीका प्राविधिक, कर्मचारी, प्लम्विङमा प्रगतिनगर खानेपानी संस्थाका प्राविधिक प्लम्बरले सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान सीप सिकाउने गरेका छन् । आधारभूत सीपका साथसाथै बालबालिकालाई कहिलेकाही विषयकेन्द्रित सचेतना सम्वन्धि जानकारी समेत प्रदान गर्दै विद्यालयले निरन्तर रुपमा बुक फि फ्राइडेलाई कार्यान्वयनमा ल्याएको विद्यालय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप