खगेन्द्र पराजुली,
नवलपुर, मंसिर १६ ।
कावासोतीको सेन्टर कलेज २८ विगाहा फुटबल क्लव देवचुली गोल्डकपको सेमीफाइनलमा पुगेको छ । शनिवारको खेलमा आयोजक शान्तिदीप युवा क्लवलाई ४–२ गोल अन्तरले जित निकाल्दै २८ विगाहा सेमीफाइनलमा पुगेको हो ।
२८ विगाहाको जितका लागि आदित्य शाक्यले २ गोल गर्दा आकाश थापा, र दिपेश राईले एक–एक गोल गरे । क्वाटर फाइनलमै स्तब्ध बनेको आयोजकका जयबहादुर थापा र अमृत बुढामगरले एक–एक गोल फर्काए ।
शनिबारको प्रतिस्पर्धामा २८ विगाहाका आकाश थापा म्यान अफ द म्याच भए ।
आइतबार क्वाटर फाइनलको अन्तिम खेल कावासोतीको वाटासिनो योङस्टार फुटबल क्लव र गैंडाकोट फुटबल क्लवबीच प्रतिस्पर्धा हुने तालिका छ ।
चितवनको योङब्वाइज फुटबल क्लव र रजहरको अभिषेक चर्च सेमीफाइनलमा पुगेका छन् ।
नवलपुरकै दोस्रो ठूलो तथा देवचुली नगरपालिकामा सर्वाधिक राशीको पुरस्कार रहेको प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमका लागि क्रमशः २ लाख ७५ हजार र १ लाख ५० हजार रुपैंया पुरस्कार रहेको छ भने सेमीफाइनलमै रोकिएका दुई टीमका लागि २५–२५ हजार नगद पुरस्कार रहेको छ ।
देवचुली १० पृथ्वीनगरको शान्तिदीप युवा क्लवको आयोजनामा पृथ्वीनगरस्थित नगर रंगशालामा मंसिर ७ गतेदेखि पहिलो संस्करणको देवचुली गोल्ड कप जारी छ ।
२२ गतेसम्म चल्ने प्रतियोगितामा पहिलो सेमीफाइनल १८ गते हुनेछ भने दोस्रो प्रतिस्पर्धा १९ गते हुने तालिका छ ।
१८ गते मंगलबार अभिषेक चर्च र २८ विगाहाले फाइनल प्रवेशका लागि मैदानमा उत्रिनेछन् । यस्तै, १९ गते बुधबार योङ ब्वाइज र आइतबारको विजेतावीच अर्को सेमीफाइनल हुनेछ ।