देवचुलीमा विद्यार्थी सीप मेलाः जीवनोपयोगी ब्यवहारिक सीपको जागरणमा नयाँ आयाम

0 Shares

खगेन्द्र पराजुली,
पुस ४, नवलपुर । भिडियो लिङ्क। https://m.youtube.com/watch?v=p7wSw0YJNfU

खगेन्द्र पराजुली,
पुस ४, नवलपुर । नवलपरासीको देवचुली नगरपालिकाले बुधबार गरेको एक दिने विद्यार्थी सीप मेलाले शिक्षामा नयाँ आयामको अभ्यास भएको शैक्षिक सरोकारवालाहरुले बताएका छन् । विद्यालय, घरपरिवार र साथीसंगतमा सिकेका जीवन उपयोगी सीपको मेलामा विद्यार्थीले प्रदर्शनी गरेका उत्पादन, सिर्जना र आविस्कार अवलोकन गरेका सरोकारवालाहरुले सकारात्मक प्रतिक्रिया दिएका हुन् ।
जनज्योति नमूना माविको खुल्ला चौरमा आयोजित सीप मेलामा देवचुली नगरपालिकाका २६ वटा विद्यालयका प्रतिनिधिमूलक विद्यार्थीले सीप मेलामा सहभागिता जनाएका थिए । मेलामा सवै माध्यमिक विद्यालयका साथै अधिकांश आधारभूत विद्यालयका विद्यार्थीहरु समेतले भाग लिएका थिए ।
सामुदायिक र संस्थागत गरी ४० मध्ये २६ विद्यालयका २८ वटा स्टलमा विद्यार्थीहरुले पाकवानसँग सम्वन्धित खाजाका परिकार, चित्रकला, हस्तकला, सिलाई, बुनाई, विज्ञानका आविस्कारका नमूना, वातावरणमैत्री अवधारणाका ढाँचा, घरायसी आवश्यकताका परम्परागत उत्पादन डोको, नाम्लो, दाम्लो गुन्द्री, चकटी, ढकिया बुन्ने, दुनाटपरी, कुचो गास्ने, कपाल काट्ने, प्राङ्गारिक मलखाद, नर्सरी, वेर्ना तयार, आधारभूत प्लम्विङ लगायतका उत्पादन, आविस्कार र सिर्जनाहरु मेलाका विशेषता रहेका थिए ।
सीप मेलामा विद्यार्थीहरुले प्रस्तुत गरेका ब्यवहारिक र जीवनउपयोगी सीप अनुमान गरिएभन्दा निकै प्रभावकारी र प्रसंशनीय रहेको आफुले महसुस गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए ।
विद्यालयले आन्तरिक रुपमा सञ्चालन गर्ने अतिरिक्त गतिविधि बाहेक पालिकास्तरमै आयोजित विद्यार्थी सीप मेला सम्भवतः नेपालमै पहिलो अभ्यासका रुपमा दावी गरेका नेपाल नमूना माविका प्रधानाध्यापक शिवप्रसाद देवकोटाले स्वदेशमै जनशक्ति टिकाउने र बिकाउने बनाउनका लागि शिक्षाको मोडलमा सीपलाई जोड्नैपर्ने सन्देश प्रवाह गरेको बताए ।
सीप मेलाले विद्यार्थीहरुमा थप उत्प्रेरणा जागृत गराएको बताएकी दिब्य एकेडेमीकी प्रिन्सिपल कोपिला भण्डारी यस खालको कार्यक्रम निरन्तरताको अपेक्षा गरिन् ।
सीप मेलामा सहभागी हुन नवनेपाल आधारभूत विद्यालयबाट प्रतिनिधित्व गरेका ३, ४ र ५ कक्षामा पढ्ने १५ जना बालबालिकाले प्रदर्शनीमा राखेका प्लम्विङ, कृषि करेशावारी, नर्सरी, मलखाद निर्माण र पाकवान्मा विद्यार्थीले सिकेको सीपका बारेमा नव नेपाल आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद गौतमले प्रतिक्रिया दिए ।
बालबालिकाका अन्तरनिहित प्रतिभा र सीप प्रस्फुटनमा अवसरको भूमिका महत्वपूर्ण हुने बिश्वज्योति स्कूलकी प्रोग्राम कोअर्डिनेटर चन्दा न्यौपानेले बताइन् ।
एउटै थलोमा फरक–फरक विद्यालयबाट आएका विद्यार्थीले देखाएको सीप एक अर्काका लागि अझ धेरै सिकाई अनुभव प्राप्त भएको महसुस गरेको जनज्योति माविका प्रधानाध्यापक मीनबहादुर दाहालले बताए ।
कक्षा २ देखि १० सम्मका ५ सय भन्दा धेरै विद्यार्थीले प्रत्यक्ष भाग लिएको विद्यार्थी सीप मेलामा सहभागी विद्यार्थीले आफ्नो अनुभव राखेका छन् ।
देवचुली नगरपालिकाले ब्यवहारिक र जीवनउपयोगी शिक्षामार्फत् बालबालिकामा श्रम, सीप र मुल्यको बोध गराउने उदेश्य सहित २०८१÷०८१ को नगरसभाले विद्यालयमा कितावरहित शुक्रबार कार्यक्रम नै लागु गरेको थियो । शैक्षिक गुणस्तर वृद्धि गर्न, जनशक्तिको अभाव पूरा गर्न विद्यालय समायोजनको नीतिलाई प्राथमिकतामा राखेको छ । यस्तै, समग्र नगरको शैक्षिक अवस्थाको रुपान्तरणका लागि तीन वर्षे आवधिक योजना र १० वर्षे रणनैतिक योजना निर्माण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप