खगेन्द्र पराजुली,
पुस १४, नवलपुर । देवचुली होटल ब्यवसाय संघको पाँचौ वार्षिक साधारणसभामा बोलेका अधिकांश बक्ताहरुले ब्यवसायमा देखा परेका असर र ति असरलाई पार लगाउन गर्न सकिने ब्यवसायिक गतिविधिका बारेमा विचार राखेका छन् ।
नारायणी किनारको दिब्य पिकनिकस्थलमा भएको साधारणसभाको खुला सत्रमा होटल ब्यवसाय सम्वद्ध संस्थाको प्रतिनिधित्व गर्दै बोलेका बक्ताहरुले आर्थिक मन्दी, अस्तब्यस्त बुटबल नारायणघाट बाटो, दोहोरो तेहेरो कर नीति प्रमुख कारण रहेको बताए ।
संघका अध्यक्ष लक्ष्मण चापागाईको प्रगति प्रतिवेदन, सचिव खुमलाल भुर्तेलको संस्था सञ्चालन प्रक्रियाको प्रतिवेदन र कोषाध्यक्ष देबीप्रसाद भण्डारीको आम्दानी–खर्च विवरण प्रस्तुतिकरण सुनेका नगर प्रमुख हरिप्रसाद न्यौपानेले देवचुली होटल ब्यवसाय संघको क्रियाशिलताको मुल्यांकन नगरपालिकाले गरेकाले संस्थागत साझेदारीतामा नगरपालिकाले निरन्तर सघाएको बताए ।
शुभकामना भनाई राखेका संघका सल्लाहकार समेत रहेका प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुसालले रचनात्मक गतिविधिमा खानेपानी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक गतिविधिमा सहकार्य–सहभागिताको नीति–कार्यक्रम रहेकाले समान उदेश्यमा साथ रहेको बताए ।
सभामा देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सूर्य दवाडी , होटल ब्यवसायी महासंघका केन्द्रिय सदस्य डिल कुमार श्रेष्ठ , महासंघ गण्डकी प्रदेशका महिला उपाध्यक्ष तुलसी ज्ञवाली, जिल्ला संघका अध्यक्ष सन्तोष राना, संघका संस्थापक गौरीश्वर न्यौपाने लगायतले बोलेका थिए ।
संघका बरिष्ठ उपाध्यक्ष भोजराज ज्ञवाली, सल्लाहकार कृष्णराज गैह्रे, ४२ वर्षदेखि प्रगतिनगरमा निरन्तर रुपमा सञ्चालित मुना होटलका सञ्चालकलाई संस्थाले सम्मान गरेको थियो ।
उद्घाटन सत्र अगाडि देवचुली नगरपालिकाबाट बाजा सहित निकालिएको शोभायात्रा दलदलेसम्म पुगेर त्यसपछि सिजी शास्वतधाम अगाडिको होटल क्षेत्र रहेको बजार परिक्रमा गराईएको थियो ।