खगेन्द्र पराजुली, माघ ४, नवलपुर । नवलपुरको पिप्रहरमा २ दिने शिक्षा सम्वन्धी कार्यक्रम शुरु भएको छ । गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले आयोजना गरेको कार्यक्रममा दुई वटा उद्देश्य केन्द्रित दुई सत्रको कार्यक्रम प्रस्तुतिकरण र सुझाव संकलन लक्षित कार्यक्रम सुरू भएको निर्देशनालयले जनाएको छ ।
शिक्षा विकास निर्देशनालय गण्डकीका महानिर्देशक अम्बिका प्रसाद आचार्यको अध्यक्षतामा भएको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी सरकारका पूर्वमन्त्री एवं सांसद महेन्द्रध्वज जिसी र देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले आफूले प्रतिनिधित्व गरेको ठाउँबाट शैक्षिक गुणस्तर वृद्धिका लागि गरेका अभ्यास र प्रयासको वारेमा चर्चा गरेका थिए।
गण्डकी प्रदेशका ११ वटै जिल्लावाट प्रतिनिधित्व गरेका प्रतिनिधिमूलक विद्यालयका प्रधानाध्यापक, पालिका अन्तर्गतका शिक्षा शाखाका अधिकारी लगायत एक सय भन्दा धेरै सहभागीलाई कार्यक्रमको उदेश्य- औचित्य सहित स्वागत गरेका निर्देशनालयका उपमहानिर्देशक धनश्याम पौडेलले विद्यालयको शैक्षिक स्तर सुधार गर्दै योग्य, दक्ष नागरिक निर्माणको उद्देश्यमा कार्यक्रम फलदायी हुने विश्वास गरे ।
कार्यक्रमको उद्घाटन सत्रमा गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख तोयानाथ लम्साल, आबुखैरेनी गाउँपालिकाका शिक्षा अधिकृत निर्मला कुँवर, नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारीले कार्यक्रमको औचित्य, लक्ष्य, उद्देश्य प्राप्तिमा कोसेढुंगा सावित हुने विश्वासका साथ शुभकामना भनाई राखेका थिए ।
उद्घाटन सत्रको सञ्चालन र पहिलो दिनको कार्यक्रम असल अभ्यास प्रस्तुतिकरण सत्रको सहजीकरण निर्देशनालय उपमहानिर्देशक ऋषिराज वास्तोलाले गरेका थिए।
शुक्रवार र शनिबार दुई दिन हुने कार्यक्रमको
पहिलो दिनको सत्रमा विद्यालयमा भए गरेका असल अभ्यासको प्रस्तुतिकरण रहेको जानकारी गराएका उपमहानिर्देशक वास्तोलाले शनिवार एसइइ परीक्षा सम्बन्धी सुझाव संकलन गरिने वताए ।
असल अभ्यास प्रस्तुतिकरणको सत्रमा गण्डकी प्रदेशका विभिन्न जिल्लावाट प्रतिनिधित्व गरेकामध्ये र गण्डकी प्रदेश वाहिर रहेका तर राष्ट्रिय स्तरमै उत्कृष्ट, नमूना र उदाहरणीय असल अभ्यासको प्रचारप्रसारसंगै चर्चामा रहेका रुपन्देही, गुल्मी, सुर्खेतवाट आमन्त्रित विद्यालय सहित १० वटा विद्यालयको प्रस्तुतिकरणको तालिका रहेको पनि वास्तोलाले जानकारी दिएका छन् ।