खगेन्द्र पराजुली, माघ ४, नवलपुर ।
नवलपुर उद्योग वाणिज्य संघले आठौं संस्करणको नवलपुर महोत्सव गर्ने भएको छ । कावासोती – १६ डण्डास्थित केरुङ्गे खोला नजिकै सडकको उत्तरतर्फ पश्चिम पट्टिको खुल्ला मैदानमा माघ २५ गते महोत्सव उद्घाटन गरिने आयोजक नवलपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
यसअगाडिका महोत्सवको अनुभव, सिकाई र अभ्यासलाई निरन्तरता दिदै आठौं नवलपुर महोत्सवमा केही नयाँ र प्रवर्द्धनात्मक गतिविधिहरू महोत्सवको आकर्षणको रुममा समावेश गरिने संघका महासचिव सागर पोख्रेलले जानकारी दिए ।
स्थानीय पालिकाहरूको समन्वयमा स्थानीय कृषि, हस्तकला, घरेलु र औद्योगिक उत्पादनलाई प्रदर्शनी स्टल प्राथमिकतामा रहने महासचिव पोखेलले वताए ।
ठूला व्यवसायिक औधोगिक उत्पादन समेत रहने नवलपुर महोत्सवमा पहिले पटक इफिल टावर, फिस टनेल र सुनामी झुला अवलोकन-मनोरञ्जनका लागि आकर्षणका रूपमा राखिने भएका छन् ।
राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति रहने साँस्कृतिक कार्यक्रममा जिल्लाका सबै जातजातिका भेषभूषा वाजागाजा सहितका मौलिक एवं परम्परागत झौंकी – साँस्कृतिक प्रस्तुति पनि रहने जनाइएको छ।
नवलपुर डान्स आइडल, रत्यौली प्रतियोगिता, साहित्य स्रष्टा सम्मान, जस्ता कला-क्षमता प्रस्फुटन र प्रोत्साहिन गर्ने खालका कार्यक्रमहरूका साथै विद्यार्थीका नविनतम आविष्कारका नमूनाको प्रदर्शनी पनि रहनेछ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आँखा अस्पतालको प्राविधिक सहयोग समन्वयमा निशुल्क आँखा परिक्षण र पहिचान भएका मोतियाविन्दुका समस्या पिडितको निशुल्क अपरेशनमा समन्वय गरिने महासचिव पोख्रेलले बताए ।
उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालले प्राय: हाटवजारको टिप्पणी खेप्नुपरेको अवस्थामा नवलपुरमा हुने महोत्सवले व्यवसायिक प्रवर्द्धन, स्थानीय उत्पादनलाई टेवा, नवप्रतिभाको पहिचान – प्रोत्साहन र सामाजिक उत्तरदायित्वलाई वहन गर्दै विद्यमान आरोपलाई चिर्नेमा ढुक्क हुन आश्वस्त पारे ।
नयाँ आकर्षणहरू थपिएकाले पनि ८० हजार अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव प्रवेशका लागि १ सय रुपैंयाको साधारण शुल्कको टिकट रहे पनि ज्येष्ठ तथा फरक क्षमता भएकाहरुका लागि निशुल्क प्रवेश रहने छ । विद्यार्थीका लागि भने ६० रुपैंयाको टिकट छ ।
२ सय ५० स्टल रहने महोत्सवमा ५ करोडौंको कारोबार हुने अनुमान छ । माघ २५ देखि फागुन १० गतेसम्म महोत्सव चल्नेछ ।