विद्यालय शिक्षा सुधारमा नविनतम अभ्यास प्रभावकारी बन्दै

0 Shares

खगेन्द्र पराजुली, माघ ६, नवलपुर ।   शिक्षा बिकास निर्देशनालय गण्डकीले नवलपुरमा शिक्षामा असल अभ्यास प्रस्तुतिकरण र एसइइ सम्वन्धी सुझाव संकलन कार्यक्रम गरेको छ । देवचुलीको पिप्रहर होमस्टेमा भएको २ दिने कार्यशालामा सहभागी शिक्षा सरोकारवालाहरुले असल र फरक अभ्यासका अनुकरणीय प्रयोग र एसइइ नतिजा सुधारमा अवलम्वन गर्न आवश्यक पक्षमा केन्द्रित रहेर अवधारणा सहितका सुझाव राखेका छन् ।
गण्डकी सरकार सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव, शिक्षा बिकास निर्देशनालयका महानिर्देशक, उपमहानिर्देशक, ११ वटै जिल्लाका शिक्षा समन्वय ईकाईका प्रमुख, पालिकाका प्रतिनिधिमूलक शिक्षा शाखाका अधिकारी र प्रतिनिधिमूलक बिद्यालयका प्रधनाध्यापक, शिक्षक सम्वद्ध पेशागत संघ–संगठनका प्रमुख–प्रतिनिधिको बृहत्तर उपस्थिति र सहभागिता रहेको कार्यक्रममा विभिन्न जिल्लाका १२ विद्यालयको प्रस्तुतिकरण रहेको थियो ।
शिक्षामा प्रयोग गरिदै आएका नविनतम र फरक खालका असल अभ्यास अवलम्वन गरेपश्चात् प्राप्त भएका शैक्षिक उपलब्धिसहितको डिजिटल प्रस्तुति राखेका थिए ।
असल अभ्यास प्रस्तुतिकरणतर्फको कार्यक्रम समग्रमा फलदायी रहेको प्रतिक्रिया दिएका सहभागीहरुले केही सुझाव पनि दिएका छन् ।
शिक्षण सिकाई क्रियाकलापदेखि अभिभावक सचेतना, विद्यालय ब्यवस्थापनमा सुधारदेखि शिक्षक पुर्नताजगी, भूगोल, मौलिक रहनसहन सुहाउँदा सीप, संस्कृतिको संयोजन र विद्यार्थीका फरक र विशेष खालका क्षमताको पहिचान, ति क्षमता प्रस्फुटनको अवसर, प्रोत्साहन जस्ता पाठ्यक्रम बाहेकका तर जीवनोपयोगी गतिविधिले शैक्षिक स्तर सुधारमा सकारात्मक प्रभाव पार्न फलदायी हुने निष्कर्ष छ ।
सामुदायिक विद्यालयतर्फ सवैभन्दा धेरै विद्यार्थी रहेको, विद्यार्थी र अभिभावकको रोजाइमा रहेको रुपन्देहीको कालिका मानवज्ञान, गुल्मीको सिद्धबाबा, सुर्खेतको जनज्योति लगायतका आमन्त्रित विद्यालय र गण्डकीका पनि उत्कृष्ट सूचीमा रहेका विद्यालयको प्रस्तुतीकरण आउँदा कमजोर विद्यालयको समस्या लुकेको महशुस भएको केही सहभागीले प्रतिक्रिया दिए ।
सामुदायिक विद्यालय सञ्चालनमा नीतिगत समस्या, थोरै विद्यार्थी धेरै दरबन्दी, धेरै बिद्यार्थी आन्तरिक स्रोतमा शिक्षक ब्यवस्थापन, अनावश्यक ठाउँहरुमा स्कूल बसको ब्यवस्थापन, विद्यालय समायोजन प्राथमिकतामा नपर्नु शैक्षिक स्तर सुधारमा चुनौती रहेको सुझाव छ ।
प्हिलो सत्रको असल अभ्यास प्रस्तुतिकरण सकिएलगत्तै भएको दोस्रो सत्रको एसइइ परीक्षा सम्वन्धि कार्यक्रममा परीक्षालाई मर्यादित, समस्यारहित बनाउन आवश्यक ब्यवस्थापकीय विषयमा केन्द्रित रहेर चर्चा र छलफल भएको थियो । शिक्षा समन्वयका र पालिकाका शिक्षा शाखाका अधिकारी लक्षित कार्यक्रममा परीक्षा केन्द्र छनोट, केन्द्र तयारी, निरिक्षक, कर्मचारी, मसलन्द, शौचालय ब्यवस्थापन, सुरक्षा तयारी–निगरानी लगायतको प्रवन्धलाई ब्यवस्थापन गर्न बजेट कम हुदा समस्या पर्ने गरेको सुझाव टिपाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप