खगेन्द्र पराजुली, माघ ६, नवलपुर । नवलपुरमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप विषयक अभिमुखीकरण भएको छ । खोप अभियानलाई प्रभावकारी बनाउन प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले बुलिङटार र बौदीकाली गाउँपालिकाका स्वास्थ्यकर्मी र मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुरका प्राविधिक स्वास्थ्यकर्मी लक्षित अभिमुखीकरण गरेको हो ।
बिश्व क्यान्सर दिवसको अवसर पारेर माघ २२ देखि प्रारम्भ गरी फागुन ६ गतेसम्ममा खोप अभियान सम्पन्न गर्ने केन्द्रीय निर्देशिका अनुसार पहिलो चरणमा अभिमुखीकरण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख सैलेन्द कुमार सिंहले जानकारी दिए ।
कक्षा ६ देखि १० सम्म पढ्ने सबै छात्रा–किशोरी र विद्यालयको पहुँच बाहिरका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई एचपिभी खोप लगाइने कार्यालयका सूचना अधिकारी एवम् जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताए ।
जिल्लाका आठै पालिकाका स्वास्थ्य संस्था, स्वास्थ्य शाखा प्रमुखहरुलाई अभियान पूर्व चरणवद्ध रुपमा अभिमुखीकरण गरिएको खोप अभियानलाई प्रभावकारी सेवा प्रवाह गर्न प्रचार–प्रसारलाई ब्यापक पारिने सूचना अधिकारी छविलाल सुवेदी बताउँछन् ।
नियमित खोप कार्यक्रमलाई प्रभाव नपर्ने गरी जिल्लामा दुई चरणमा अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय नवलपुरका खोप फोकल पर्सन खरेलप्रसाद चौधरीले जानकारी दिए । गैंडाकोट, देवचुली, बुलिङटार र बौदीकालीमा माघ २२ देखि २८ सम्म पहिलो चरणमा र कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा माघ २८ देखि फागुन ६ गतेसम्म दोस्रो चरणमा अभियान चलाइने तालिका बनेको छ ।
कक्षा ६ देखि १० सम्म पढाई हुने सबै विद्यालयलाई घुम्ती खोप केन्द्रका रुपमा निश्चित गरी विद्यालय परिवार, स्वास्थ्य स्वंयंसेविका, जनप्रतिनिधि समेतको सहयोग–समन्वयमा खोप अभियान चलाईने खोप फोकल पर्सन चौधरी बताउँछन् ।
यस्तै, विद्यालय पहुँचमा नरहेका १० देखि १४ वर्ष उमेरका किशोरीका लागि अभियानको अन्तिम दिन अर्थात फागुन ६ गते सवै सरकारी स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिने पनि जनाईएको छ ।
महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचभिपी खोपका बारेमा निर्देशिकाले स्पष्ट ब्याख्या गरेअनुसारकै नीति–निर्देशनको परिधिमा रहेर खोप निशुल्क प्रदान गरिने कार्यालय प्रमुख सैलेन्द्र कुमार सिंहले स्पष्ट पारे ।
अभिमुखीकरणमा प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख सैलेन्द्र कुमार सिंह, सूचना अधिकारी छविलाल सुवेदी, खोप फोकल पर्सन खरेलप्रसाद चौधरी, मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा नवलपुरका प्रमुख एवं मेडिकल सुपरिटेण्डेण्ट डा. रमेशप्रसाद आचार्य, स्टाफ नर्स वर्षा चापागाईले अभिमुखीकरण गराएका छन् ।
बुलिङटार र बौदीकाली स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुखहरु र मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुरका प्राविधिक स्वास्थ्यकर्मी अभिमुखीकरणमा सहभागी भएका छन् ।
यही प्रक्रियामा पुस १८ गते सुरू गरि सवै पालिकाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।