माघ १६, देवचुली ।
जेसीज युवाहरुले देवचुलीको दलदलेमा दीप प्रज्वलन गरेका छन् । युवाहरुले शहिदको सम्झना र सम्मानमा बुधबार साँझ दलदले चोकमा मैनवत्ती बालेर श्रद्धा–सुमन अर्पण गरेका हुन् ।
देवचुली जेसीज वर्ष २०२५ का अध्यक्ष ढुण्डीराज केसीको अध्यक्षता तथा दलदले बजार ब्यवस्थापन समितिका अध्यक्ष राजेश रसाइलीको प्रमुख आतिथ्यतामा शहिदप्रति समर्पित प्रेरणादायी कार्यक्रम भएको कार्यक्रम संयोजक दिपक पोख्रेलले जानकारी दिए ।
युवाहरुको नेतृत्व, ब्यक्तित्व, क्षमता बिकास र सामाजिक रुपान्तरणका क्रियाकलापलाई केन्द्रमा राखेर जेसीजले गर्न सक्ने गतिविधिमध्ये देश र जनताका लागि शहादत प्राप्त गर्ने बीर शहिदहरुको उर्जाशील भावना जागृत गराउँदै युवाहरुमा देशभक्ति र समर्पणको रक्तसञ्चार गराउन कार्यक्रमले प्रेरित गर्ने देवचुली जेसीज वर्ष २०२५ का अध्यक्ष ढुण्डीराज केसीले बिश्वास ब्यक्त गरे ।
जेसीज देवचुलीका महासचिव नरेन्द्र भण्डारीको सहजीकरणमा भएको शहिदप्रति समर्पित दीप प्रज्वलनमा देवचुली जेसीज वर्ष २०१९ का अध्यक्ष बसन्त पोख्रेल, दलदले बजार ब्यवस्थापन समितिका सचिव चिरन पाण्डे लगायत करीव ४ दर्जन युवाहरुको उपस्थिति रहेको थियो ।