खगेन्द्र पराजुली, माघ १८, नवलपुर । नवलपुर उद्योग वाणिज्य संघले आठौँ नवलपुर महोत्सव लक्षित समुदाय परिचालन र सामाजिक सहभागितामूलक छलफल-अन्तरक्रियालाई निरन्तरता दिएको छ।
जिल्लाकै कृषि, उद्योग, व्यापार, कला-संस्कृति र प्रतिभा प्रवर्द्धनको हितमा फलदायी हुने विश्वासका साथ डण्डामा हुन लागेको महोत्सवको तयारी, व्यवस्थापन, उद्देश्य सहितका जानकारी प्रवाह गर्नुका साथै संस्थागत सहभागिता र उपस्थिति उल्लेख्य वनाउने विषयमा संस्थागत प्रतिनिधिवीच छलफल भएको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालले वताए ।
कावासोती नगरस्तरीय संघसंस्थासँगको प्रतिनिधिमूलक उपस्थिति रहेको छलफलमा बजार, महिला, युवा, संरक्षण-प्रवर्द्धन, कृषि-सहकारी लगायतका सामुदायिक-सामाजिक संघसंस्थाका प्रतिनिधिले महोत्सव सफल बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धताका साथै महत्वपूर्ण सुझाव समेत दिएका छन् ।
उद्योग वाणिज्य संघ नवलपुरका वरिष्ठ उपाध्यक्ष भेषबहादुर अधिकारीले आउँदा वर्षहरुमा पनि महोत्सव लगाउन मिल्ने उपयुक्त स्थानका रुपमा डण्डालाई प्राथमिकतामा राखिएकाले डण्डाको व्यवसायिक, औद्योगिक, कृषि, पर्यटन, कला -संस्कृतिप्रति सरोकार राख्ने संघ-संस्था एवं सम्पूर्ण महानुभावको सहयोग-समन्वय-सहकार्यको अपेक्षा व्यक्त गरे ।
सामाजिक संघसंस्था परिचालन केन्द्रित छलफल कार्यक्रमको सहजीकरण गरेका नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोखेलले महोत्सवका बारेमा आएका सुझाव-प्रतिक्रिया र जिज्ञासाका वारेमा जवाफ दिएका थिए ।