खगेन्द्र पराजुली, माघ १९, नवलपुर । नेपाल बन पैदावर उद्योग व्यवसायी संघ नवलपुरको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ। कावासोती स्थित संघको कार्यालयमा शनिवार जिल्ला अध्यक्ष शालिकराम सापकोटाको अध्यक्षता तथा व्यवसायी महासंघका केन्द्रिय सदस्य विश्वराज वगालेको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो।
संधारण सभामा कोषाध्यक्ष जिवलाल भट्टराई ले आम्दानी(खर्चको विवरण सुनाएका थिए भने कार्यक्रमको सहजीकरण गरेका सचिव राजेश श्रेष्ठले संस्थाले गरेका संस्थागत निर्णय, व्यवसायिक हितका पहल, सामाजिक उत्तरदायित्व र संरक्षण सम्बन्धि भाएका कामको प्रगति प्रस्तुत गरेका थिए। २०७८ सालमा स्थापित वस्तुगत व्यवसायीहरूको साझा संस्थाले गर्नुपर्ने आगामी योजना र कार्यक्रम समेत साधारण सभामा प्रस्तुत गरे ।
जिल्ला संघका उपाध्यक्ष बालकृष्ण पाण्डेको स्वागत मन्तब्य रहेको साधारण सभामा केन्द्रिय सदस्य विश्वराज वगाले, प्रदेश वरिष्ठ उपाध्यक्ष विश्वराज अधिकारी र प्रदेश सल्लाहकार लक्ष्मी प्रसाद भण्डारीले व्यवसायिक एकरुपतालाई मध्यनजर गर्दै समन्वय, एकता संरक्षणमा उत्तरदायित्व वहन गर्दै व्यवसायिक हित र संस्थाको भूमिकालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
कानूनी रुपमा पनि सबैभन्दा झन्झटिलो व्यवसायिक क्षेत्रका रुपमा कहलिएको काष्ठ व्यवसायी र काष्ठजन्य उत्पादक(उद्योगीहरु विदेशवाट आयातित काठ, प्लाष्टिक जन्य वस्तुहरुको दबदवा, सरकारको नीतिगत र कानूनी जटिलता, टेण्डरमा राष्ट्रिय रूपमा उपस्थिति जनाउन कही सिण्डीकेट कतै खुल्ला, नीति र मापदण्डको असरमा नवलपुरका ब्यवसायी गुज्रिएको स्थिति रहेको वताएका अतिथि एवं अगुवा ब्यवसायीले नवलपुरका व्यवसायीहरू एक्लाएक्लै अस्वस्थ प्रतिस्पर्धा छाडेर संगठित भएर सबैको व्यवसायको हितमा लाग्नुको विकल्प नरहेको धारणा राखेका थिए ।