८२ सालभित्रै राहत शिक्षकको समस्या समाधान हुन्छ–महासंघ अध्यक्ष

0 Shares

खगेन्द्र पराजुली, माघ २१, नवलपुर ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले ८२ सालभित्रै राहत शिक्षकको समस्या समाधान हुने ठोकुवा गरेका छन् ।
सोमबार नवलपुरमा आयोजित राहत शिक्षक नवलपुरको छैठौं अधिबेशन उद्घाटन सत्रमा सम्वोधन गरेका शिक्षकहरुको छाता संस्था नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले शिक्षकहरुको निर्णायक आन्दोलनले समस्त शिक्षकहरुको हकहित, शर्त र सुविधालाई सम्बोधन गराइ छाड्ने जिकिर गरे ।
उनले सिंगो शिक्षक जनशक्तिले आफ्नो ब्यक्तिगत स्वार्थ नभएर समग्र शिक्षाको गुणस्तर सुधार्न बेला–बेला आन्दोलनमा उत्रनुपरेको स्पष्ट पारे ।
शिक्षकका अधिकांश साझा र केही फरक–फरक विषयमा चुनौती रहेको बताएका उनले महासंघको नेतृत्वमा भएका आन्दोलनले थुप्रै उपलब्धि हासिल गरेको बताए ।
अधिवेशनको उद्घाटन सत्रमा बोलेका पेशागत संघ–संगठनका जिल्ला, प्रदेश र केन्द्र तहमा नेतृत्व गरेका जिल्लास्थित नेतृत्व प्रतिनिधि लगायत अधिकांश बक्ताहरुले शिक्षकमाथी राज्यको विभेदपूर्ण ब्यवहार रहेको आरोप सहितका आक्रोश ब्यक्त गरेका थिए ।
कार्यक्रममा राहत शिक्षकका रुपमा शैक्षिक क्षेत्रमा प्रवेश गरी हाल स्थायी हुन सफल सहकर्मीलाई आयोजक जिल्ला कार्य समितिले बधाइ तथा सम्मान गरेको थियो । यस्तै, नवलपुरमा राहत शिक्षकलाई संगठित गरी योगदान पुर्याएको कदर गर्दै संस्थापक एवं पूर्व अध्यक्षहरुलाई पनि समितिले सम्मान गरेको छ ।
हाल जिल्लामा रहेका ५ सय ६५ जना राहत शिक्षकको नेतृत्व गरेकी राहत शिक्षक नवलपुरको अध्यक्ष टीकादेबी पोख्रेलको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन जिल्ला समितिका सह–सचिव यादव भुसालले गरेका थिए भने नगरस्तरीय राहत शिक्षक समिति कावासोतीका अध्यक्ष रीता खड्काले स्वागत गरेकी थिइन् ।
अहिले कावासोतीस्थित ज्ञानोदय माविमा नयाँ नेतृत्व चयनको प्रक्रियामा बन्द सत्र चलिरहेको निर्वाचन समिति संयोजक कृष्णप्रसाद तिवारीले जानकारी दिएका छन् ।

भिढियो समाचार लिंक तल राखिएको छ ।

https://www.facebook.com/share/v/1DFpkWR74n/

प्रतिक्रिया
सम्बन्धित समाचार थप