खगेन्द्र पराजुली, फागुन १३, देवचुली । पाँचौ देवचुली महोत्सव शुरु भएको छ । फागुन २५ गतेसम्म चल्ने महोत्सव देवचुली १४ छत्तिसघरमा सोमबारदेखि शुरु भएको हो । देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले पाँचौ देवचुली महोत्सव उद्घाटन गरे ।
महोत्सव आयोजक देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष सूर्य प्रसाद दवाडीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नगर प्रमुख न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
पाँचौ देवचुली महोत्सवको उद्घाटन सत्रका प्रमुख वक्ता समेत रहेका नगर प्रमुख न्यौपानेले ब्यवसायिक प्रवद्र्धन र आर्थिक बिकासमा नगरपालिकाको धारणा सुनाए ।
देवचुली नगरपालिकाका अधिकांश जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाजिक–सामुदायिक–संस्थागत तथा ब्यवसायिक संघसंस्थाका प्रतिनिधि, जिल्ला, छिमेकी पालिका तथा प्रदेश स्तरीय उद्योग वाणिज्य संघ–महासंघका नेतृत्वदायी पदाधिकारी–प्रतिनिधि लगायतले भरिएको मञ्चबाट महोत्सव सफलताको शुभकामना ब्यक्त गरेका वक्ताहरुले महोत्सवको उदेश्य उपलब्धिमा हासिल गर्न र सवै महोत्सव उस्तै हुन् भन्ने भाष्यलाई चिर्न सक्नुपर्ने सुझाव सहितका साझा धारणा राखेका थिए ।
उद्योगी ब्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष अमृत भट्टचन र देवचुली उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष धर्मराज बस्यालले ब्यवसायमा देखिएका नकारात्मक संकेत, असर, चुनौती, गरिएका प्रयास र अभ्यासले उपलब्धि पाउन नसक्दा उद्योगी ब्यवसायीमा निराशा छाएको पीडाभाव ब्यक्त गरे ।
राजनैतिक दलको प्रतिनिधित्व गर्दै बोलेका नेपाली काँग्रेसका अशोक बस्ताकोटी, संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै बोलेका नेपाल माविका प्रधानाध्यापक शिवप्रसाद देवकोटाले महोत्सवले देवचुलीलाई आर्थिक सवलीकरणको दिशामा लैजान सवै क्षेत्रको ब्यवसायिकीकरण र उत्थानमा स्थानीय सरकार तथा निजीक्षेत्रबीचको विश्वासपूर्ण सम्वन्ध र सहकार्यलाई मजब’त बनाउनुपर्ने धारणा राखे ।
महोत्सव आयोजक संस्थाका उपाध्यक्ष नारायणप्रसाद पौडेलको स्वागत मन्तब्य रहेको उद्घाटन समारोह सञ्चालन महासचिव विनोद सिलवालले गरेका थिए ।
विभिन्न झाँकीसहित उद्योग वाणिज्य संघ दलदलेबाट निस्किएको शोभायात्रालाई महोत्सव समारोहबाट निवर्तमान अध्यक्ष रेशम सापकोटाले धन्यबाद प्रकट गरेका थिए ।