खगेन्द्र पराजुली, जेठ १५ ।
देवचुली । बिशालटार खानेपानीको निर्वाचनमा ८१ प्रतिसत वढी मत खसेको छ । ५ सय ११ मतदाता रहेको देवचुली ९ बिशालटारको खानेपानी संस्थाको निर्वाचनमा ४ सय १६ मत खसेको निर्वाचन समितिले जनाएको छ । खसेको यो मत ८१ दशमलब ४ प्रतिसत हो ।
बिहान ८ बजे सुरु भएको मतदान कार्य दिउँसो ३ वजे सकिएको छ । यहाँ मतदान सम्पन्न गर्न २ वटा मतदान केन्द्र खडा गरिएको थियो ।
बिशालटार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौं अधिवेशन अन्तर्गतको चुनावमा दुई प्यानलबीचको प्रतिस्पर्धा छ ।
बिशालटार खानेपानी संस्थाको निर्वाचनमा भरतराज आचार्य र खेमनारायण पंगेनी नेतृत्वका दुई प्यानल छन् । प्यानल बाहेक अध्यक्षमा यदुनाथ कण्डेल पनि चुनावमा छन् ।
मुख्य प्रतिस्पर्धीका रुपमा हेरिएका अध्यक्षका उम्मेदवार स्थानीय रुपमा लोकप्रिय मानिन्छन् ।
युवावस्थादेखि नै बिशालटारमै बसेर ग्रामीण स्तरका सामाजिक, राजनैतिक, ब्यवसायिक क्रियाकलापमा संलग्न हुदै आएका खेमनारायण पाका र अनुभवी उम्मेदवारका रुपमा चिनिन्छन् ।
बिशालटार खानेपानीमा स्थापनाकालदेखि गत सालसम्म निरन्तर कार्यालय सचिव ब्यवस्थापकको जिम्मेवारी सम्हालेका खेममनारायण खानेपानी क्षेत्रमा अनुभवी मानिन्छन् ।
उता अर्का प्रत्यासी भरतराज आचार्य पनि खानेपानी संस्थामा लेखा संयोजक हुदै एक कार्यकाल सचिव भएर काम गरेका छन् । विदेशबाट डिग्री हासिल गरेका युरोपको ग्रिनकार्ड त्यागेर ब्यवसायसँगै सामाजिक, राजनैतिक गतिविधिमा सक्रिय रहेका भरत खानेपानीको पछिल्लो उपलब्धिमा सचिव पदमा रहेर पनि महत्वपूर्ण भूमिका खेल्ने पात्रका रुपमा चर्चा गर्ने गर्दछन् ।
स्थापनादेखि भूमिकामा रहदै आएका बा उमेरका खेमनारायण र सचिवको पदावधि सकेर अध्यक्षमा रहर गरेका छोरा उमेरका भरतराज भिन्न राजनैतिक आस्था राख्दछन् । खेमनारायण एमालेका हुन् भने भरत काँग्रेसमा आस्था राख्दछन् ।
उम्मेदवार, प्रचार प्रसार, सहयोगी–समर्थक सबै पक्षलाई हेर्दा यहाँको नतिजामा राजनैतिक प्रभाव पर्न सक्ने अनुमान गर्न सकिन्छ । त्यसो त उम्मेदवारको ब्यक्तित्वले पनि यहाँको परिणाममा भूमिका खेल्न सक्छ ।
अघिल्लो सातौ अधिवेशनमा सर्वपक्षीय रुपमा सर्वसम्मत समिति चुन्ने विषयमा काँग्रेससँग अरु दलको भागवण्डा नमिलेपछि पर्ख र हेरको सिद्धान्तमा उपस्थिति सुन्य पारेर काग्रेसकै अध्यक्ष मोहन बहादुर आले नेतृत्वको एकल प्यानलका उम्मेदवारहरु निर्वाचित भएका थिए ।
राती अवेर नहुने गरी मतगणना सम्पन्न गर्ने तयारीका साथ मतदान सम्पन्न र गणना पूर्वका तयारीका कामहरु चलिरहेको निर्वाचन समितिले जनाएको छ ।