खगेन्द्र पराजुली,
जेठ २४, देवचुली । देवचुली उद्योग वाणिज्य संघको अध्यक्षमा सत्यनारायण भुसाल सर्वसम्मत भएका छन् । शुक्रबार सम्पन्न अधिबेशनले भुसालको अध्यक्षतामा कार्यसमिति र भोजराज ज्ञवालीको संयोजकत्वमा लेखा समिति निर्विरोध निर्वाचित गरेको हो ।
संघको चौथो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विनोद सिलवाल, उद्योग उपाध्यक्ष हरि पाठक र वाणिज्य उपाध्यक्षमा जयराम श्रेष्ठ चयन भए ।
यस्तै, महासचिवमा तिला अर्याल, सचिव जनक आचार्य र कोषाध्यक्ष पिताम्वर अर्याल निर्वाचित भएका छन् ।
निर्वाचन समिति संयोजक इन्द्रमणी भुसालका अनुसार कार्य समिति र लेखा समितिका सदस्यहरु पनि सर्वसम्मत भएका छन् ।
२०७१ सालमा धर्मराज बस्यालको अध्यक्षतामा स्थापित देवचुली उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनले रेशमलाल सापकोटा र तेस्रो अधिबेशनले सूर्यप्रसाद दवाडीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।
देवचुली उद्योग वाणिज्य संघमा नविकरण दर्ता प्रक्रिया पुरा गरेका ५ सय १३ जना उद्योगी–ब्यवसायी आवद्ध छन् ।