खगेन्द्र पराजुली ।
जेठ ३०, देवचुली । देवचुली नगरपालिकाका सामुदायिक विद्यालय गणित शिक्षकले दुई दिने अभिमुखीकरणमा भाग लिएका छन् । आधारभूत, मावि, निमावि तिनै तहका ६० भन्दा धेरै गणित शिक्षकले तालिम लिएका हुन् ।
बेदान्त पब्लिकेशनका गणित पुस्तकका लेखक एवं विषय प्रशिक्षक हुकुमप्रसाद दाहालले पहिलो दिनको सत्रमा सहजीकरण गरेका थिए । दोस्रो दिन सहभागी शिक्षकहरुले शैक्षिक क्रियाकलाप, विधि, शैलीका विषयमा अन्तरक्रियात्मक सिकाई अनुभव आदानप्रदानका साथै तहगत प्रशन निर्माण, छलफल र शैक्षिक नतिजा प्रगति प्राप्तिमा प्रतिवद्धता निष्कर्ष सहित कार्यक्रम सम्पन्न भएको इम्बक्स नवलपुरका अध्यक्ष समेत रहेका शिक्षक शिवप्रसाद देवकोटाले जानकारी दिए ।
सम्वन्धित विषयका लेखकसँग साक्षात्कार रुपमा गरिएको कार्यक्रमले विषयको महत्व, अवधारणा समेतमा स्पष्टता आउने नेपाल माविका प्रधानाध्यापक एवं गणित विषय शिक्षक शिवप्रसाद देवकोटा बताउँछन् ।
विद्यार्थीका लागि गाह्रा विषयमध्ये एक गणित पनि भएकाले विषय शिक्षक लक्षित कार्यक्रमपश्चात् शैक्षिक नतिजामा सुधार आउने शिक्षा शाखा देवचुलीका प्रमुख रामप्रसाद शर्माले विश्वास लिएका छन् ।
देवचुली नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको दुई दिने तालिमको सहजीकरण, सहभागी शिक्षकको सट्टा ब्यवस्थापन जस्ता संबेदनशील ब्यवस्थापन इम्वक्स मार्फत विद्यालय प्रशासनले गरेको शिक्षा शाखा देवचुलीका अधिकृत नन्दलाल ढकालले जानकारी दिए ।
बिहीबार र शुक्रबार दुई दिनको दुई सत्रमा भएको कार्यक्रमको उद्घाटन देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले गरेका थिए ।