द्वन्दपिडित परिवारका आवश्यकता पहिचान समिक्षा

0 Shares

खगेन्द्र पराजुली ।
असार १, नवलपुर । कावासोतीमा द्वन्दपिडित परिवारका आवश्यकता पहिचानका विषयमा समिक्षात्मक कार्यक्रम भएको छ । आइतबार जिल्ला समन्वय समितिमा जिल्ला निर्देशक समिति र सरोकारसम्वद्ध नागरिक संस्थाका प्रतिनिधिमूलक पदाधिकारीहरुको उपस्थितिमा भएको कार्यक्रममा पहिचान भैसकेका आवश्यकतालाई प्रभावकारी कार्यान्यनमा जोड दिएका थिए ।
लक्षित र नागरिक संस्थाका प्रतिनिधिहरुले कार्यान्वयन तहमा तिनै तहका सरकार र विशेष गरी स्थानीय सरकार अन्तर्गत जिल्ला तहसम्मको प्रभावकारी परिणाममुखी कार्यान्वयनको अपेक्षा सहित गुनासा, सुझाव राखेका थिए ।
द्वन्दपिडित महिला सञ्जाल नवलपुरकी अध्यक्ष पार्वती सिग्देलले जिल्लामा रहेका द्वन्द पिडित परिवारका महिलाहरुको स्थिति, सामाजिक ब्यवहार, उनीहरुको आवश्यकता पहिचानमा हासिल गरेका उपलब्धि, लक्षित र पिडित वर्गले अपेक्षा गरेका र पहिचान भएका आवश्यकताको सुक्ष्म स्थिति समेटिएको वक्तब्य राखेकी थिइन् ।
जनयुद्धकालिन अवस्थाका द्वन्दपिडितमध्ये पनि सहादत प्राप्त, वेपत्ता, घाइते परिवारका महिलाहरुको सवालमा पैरवी वकालत गर्दै आइरहेको संस्था विजय विकास स्रोत केन्द्र गैंडाकोट अन्तर्गतको द स्टोरी किचनले गरेको समिक्षात्मक कार्यक्रममा संस्थाका तर्फबाट न्यायका लागि साहस कार्यक्रम सहजकर्ता नर्मदा पाण्डे र द स्टोरी किचनका कार्यक्रम संयोजक मीना बिकले डाटावेसमा सञ्चालित कार्यक्रम सञ्चालन दौरानका चुनौती, स्थानीय पालिका र सरोकार पक्षको सक्रियता–चासो, प्राप्त उपलब्धि–नतिजा, लक्षित वर्गको उत्थानमा देखिएका परिवर्तन र उदेश्य प्राप्तिमा देखिएका नीतिगत अड्चन , अस्पष्टता र उदासिनताप्रति इंगित गर्दै सुझाव धारणा राखेका थिए ।
कार्यक्रममा सामाजिक बिकास कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, शिक्षा बिकास तथा समन्वय इकाइ प्रतिनिधि सन्तोषी भण्डारीले शिक्षा र सामाजिक कार्यालय मार्फत द्वन्द पिडित परिवारमा राज्यबाटै सोझै पुर्याईएका राहतमुखी कार्यक्रम र लाभग्राहीको विवरणात्मक प्रस्तुति राखेका थिए ।
जिल्ला निर्देशक समिति नवलपुरका संयोजक समेत रहेका जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माले समानता न्याय र लोकतान्त्रिक गणतन्त्र ब्यवस्था ल्याउन बलिदानी दिनेहरु, वेपत्ता हुनुहुनेहरु र घाइते, यातना पिडितहरु र तिनका परिवारले भोगेका पिडाहरुहरुमा मल्हम लगाउन सके पिडित परिवारले न्याय प्राप्त गरेको ठहर्ने धारणा राखे ।
नवलपुर सिडिओ भविश्वर पाण्डे समेतको उपस्थिति रहेको कार्यक्रममा जिल्ला बार एशोसियसनका अध्यक्ष चेतप्रसाद डुम्रे, शिक्षाका लागि राष्ट्रिय अभियानका संयोजक बद्रीनाथ नेपाल लगायतले सुझाव सहितका धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप