दिगो बिकास लक्ष्य प्राप्तिमा प्रतिबद्ध–नगर प्रमुख

0 Shares

खगेन्द्र पराजुली ।
असार ९, देवचुली । देवचुली नगरपालिकाको १६ औं नगर सभामा नगर प्रमुख हरिप्रसाद न्यौपानेले संबिधानको कार्यान्वयन, संघीयता सवलीकरण आर्थिक, सामाजिक रुपान्तरण सहित समतामूलक समाज निर्माण तथा दिगो बिकास लक्ष्य प्राप्तिमा प्रतिबद्ध रहेको बताएका छन् ।
सोमवार नगरपालिकाको सभाहलमा आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नगर प्रमुख न्यौपानेले आफ्नो अहिलेसम्मको अवधिमा नगरवासीको आशा र भरोसा जगाउँदै सुख र समृद्धिका लागि प्रतिबद्ध रही नीति तथा कार्यक्रमहरु कर्यान्वयन गर्दै आइरहेको स्मरण गराए ।
नगर प्रमुख न्यौपानेले नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम देवचुली नगरपालिकाको मौजुदा अवस्था, स्रोत साधन र जनभावनालाई आत्मसात गर्दै प्राप्त राय सल्लाह सुझाव अनुसार तयार गरेको उल्लेख गरेका छन् । सभामा नगर प्रमुख हरिप्रसाद न्यौपानेले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत नीति तथा कार्यक्रमले पूर्वाधार विकास, उत्पादनमूलक व्यवसायिक कृषि प्रणालीको विकास, समानुपातिक र सन्तुलित विकास, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन लगायतलाई प्राथमिकता दिएको छ ।
यस्तै, आधारभूत शिक्षा र स्वास्थ्य सेवा, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, सम्वद्र्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, सुशासन प्रवद्र्धन तथा गुणस्तरीय सेवा, स्वरोजगार, उद्यमशीलता तथा व्यवसायिक कृषि प्रणालीको प्रवद्र्धन, गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मावनस्रोत विकासमा जोड दिइएको छ ।
नगर प्रमुख हरिप्रसाद न्यौपानेको नीति कार्यक्रमसँग सम्वन्धित रहेर नगर सभा सदस्यहरु चित्र बहादुर थापा, डम्बर बहादुर सिंजाली, विष्णु खड्का र धर्मा न्यौपानेले सुझाव, धारणा, टिप्पणी राखेका थिए ।
नगरप्रमुख न्यौपानेले नगर सदस्यको जवाफपश्चात् नीति कार्यक्रम पारित भएको छ ।
नीति तथा कार्यक्रम अनुमोदन पश्चात् नगर उपप्रमुख पार्वता तिवारीले प्रस्ताव गरेको आगामी आर्थिक वर्षका लागि विनियोजित ८८ करोड ५४ लाख ५९ हजार ५ सय ४३ बराबरको अनुमानित बजेट नगरसभाले पारित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप