असार १०, देवचुली । देवचुलीका नगरप्रमुख हरिप्रसाद न्यौपानेद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा नगर सभा सदस्य चित्रबहादुर थापाले स्थायी र दिगो फोहोर ब्यवस्थापनलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।
वडा नम्वर ३ का सदस्य समेत रहेका थापाले सुकुम्वासीलाई लालपुर्जा वितरणमा भएको ढिलाईप्रति जिज्ञासा राख्दै छिटो कार्यान्वयन हुने गरी लाग्न सुभेक्षा ब्यक्त गरेका थिए ।
थापाले कृषि प्रयोजनार्थ जोताईको भाडा मूल्य दर कायम हुन नसक्दा देखिएको ब्यवसायीको मनोमानी, स्थानीय रुपमा उत्पादित कृषि उत्पादनले उचित मूल्य नपाउँदा माथी उठ्न नसकेका कृषकका समस्या, विस्थापनको स्थितिमा पुगेको आरन ब्यवसाय प्रवद्र्धन जस्ता भुँइमान्छेका आवाज बोलेका थिए ।
उद्योगी ब्यवसायीका समस्यालाई छुन भ्याएका थापाले विना अनुमतिका घुमुवा ब्यापारीलाई ब्यवसायिक नीति नियमको दायरामा ल्याउन सुझाए । उनले स्थानीय उत्पादनको वजारीकरणमा अन्तर पालिका मितेरी ब्यवसायिक सम्वन्ध स्थापित गर्न सके आर्थिक रुपान्तरणमा परिवर्तन आउने बिश्वास सहितको धारणा राखेका थिए ।
उनले विपतसँग सम्वन्धित डुवान, बाढीले पुर्याउन सक्ने क्षति रोकथाम न्यूनीकरणमा समेत नगर सरकारको ध्यानाकर्षण गराएका थिए ।
नगर सभा सदस्य थापाका जिज्ञासा, टिप्पणी र धारणालाई नगरप्रमुख हरिप्रसाद न्यौपानेले जवाफ सहित प्रष्ट्याएका थिए ।