खगेन्द्र पराजुली ।
असार १०, देवचुली । देवचुली नगरपालिकाले असार ९ गते सोमबार १६ औं नगरसभामार्फत आ वर्ष ०८२–८३ को नीति तथा कार्यक्रम र वजेट पारित गरेको छ । नगर उपप्रमुख पार्वता तिवारीले ८८ करोड ५४ लाख ५९ हजार ५ सय ४३ बराबरको वजेट प्रस्ताव गरेकी थिइन् । त्यसअघि, नगरसभामा नगर प्रमुख हरिप्रसाद न्यौपानेले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए ।
नगर प्रमुख न्यौपानेले आफ्नो कार्यकाल सम्झनलायक होस् भनेर सिंगो टीम लागेको उल्लेख गरे । उनले उपलब्ध सिमित स्रोत र साधनको विवेकपूर्ण तथा उच्चतम परिचालन गर्दै कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा नीति कार्यक्रमले जोड दिएको बताए ।
समग्र नगरको सन्तुलित विकासमा प्राथमिकता दिइएको उल्लेख गरेका नगर प्रमुख न्यौपानेले आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनेमा विश्वास लिएका छन् ।
नगर प्रमुख न्यौपानेले ११९ बुँदामा समेटिएको क्षेत्रगत नीति–कार्यक्रम र २५ महत्वपूर्ण नीति कार्यक्रम नगर सभामा प्रस्ताव गरेका हुन् ।
नगरसभाबाट पारित भएसँगै देवचुली नगरपालिकाले प्राकृतिक चिकित्सा र नागरिक आरोग्यता महाअभियानको नीति लिएको छ ।
यस्तै, शिक्षालाई सीप, सीपलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रम, मेयरसँग गरिव घरपरिवार, झोलारहित शुक्रबार तथा विद्यालय करेसाबारी, विद्यार्थी सीपमेला, कृषि मेला, रोजगार मेला जस्ता कार्यक्रम समेटिएको छ ।
कक्षा १–५ अनिवार्य तथा निशुल्क शिक्षा, बालमैत्री स्थानीय तह घोषणा दिगोपना, सहयोगापेक्षी सडक मानवमुक्त नगरको लक्ष्य समेटिएको नीति तथा कार्यक्रममा कृषिमा नगर श्रमकेबलकार सम्भाब्यता अध्ययन, स्थानीय मदिरा ब्राण्डिङ र राँगाको मासु चीन निर्यात गर्ने सम्मका कार्यक्रमलाई देवचुली नगरपालिकाले नीति बनाएको छ ।
मध्यवर्ती प्रभावित समस्यामा पहल, करमा छुट, कर्मचारी जनप्रतिनिधि सम्मानको नीति लिएको देवचुली नगरपालिकाले श्रम डेस्क, सूचना स्रोत तथा अभिलेख केन्द्र, पूर्वाधार प्रयोगशाला, आपत विपत सञ्चालन केन्द्र, सिसी क्यामेरा जडान र देवचुलीमा बाइनाकुलर जडान गर्ने कार्यक्रम पनि समेटेको छ ।
देवचुली नगरपालिकाले निकुञ्जभित्र रहेको शिद्धबाबा थान संरक्षण र बाह्रकोल–बरचुली सडकलाई प्राथमिकताका २५ शिर्षकभित्र समेटेको छ ।
देवचुली नगरपालिकाले वडा समायोजनलाई आगामी नगरसभासम्ममा निर्णय गरी प्रक्रिया सम्पन्न गरिने किटानी नीति लिएको छ ।