१३ असार, काठमाडौँ। युवाको क्षेत्रमा क्रियाशील संघसंस्था र युवाहरूले युवामाथि लक्षित लगानी वृद्धि र युवा तथा जलवायु मैत्री स्थानीय शासन प्रणालीको विकासमा जोड दिएका छन्। युवा जलवायु र वातावरणसँग सम्बन्धित नीति निर्माण प्रक्रियामा तिनै तहका सरकारमा युवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्। जलवायु तथा युवा सहभागिता प्रवर्द्धन र सामाजिक समावेशीकरण सँग सम्बन्धित रहेको कार्यक्रमका सहभागीहरूले उक्त कुरा बताएका हुन्। जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिल नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा युवा जलवायु परिवर्तन र लैङ्गिक तथा समावेशी समानता सम्बन्धी विषयमा सबै सबै सरोकारवालाहरू जागरुक हुनुपर्ने बताएका छन्।
गण्डकी प्रदेशको मध्यबिन्दु नगरपालिकामा बालिका सशक्तिकरण कार्यक्रमका सहभागी अभियन्ता र सुनवल नगरपालिकामा रहेका युवा अभियन्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले विद्यमान संरचनाहरू प्रभावकारी कार्यान्वयन गर्नुका साथै युवामैत्री स्थानीय शासनका लागि थप स्रोत र लगानी परिचालन गर्न आवश्यक भएको पनि बताएका छन्।
गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका युवाहरूले बिभिन्न चुनौतीहरूका बावजुद पनि समुदायमा गरेका सकारात्मक कामको अनुभव बाँड्दै युवामा लगानी गर्नाले उनीहरूको क्षमता अभिवृद्धि हुने र जलवायु सम्बन्धी अभियानहरु अझै प्रभावकारी गरी युवा सहभागिता सुनिश्चित हुनेमा जोड दिएका थिए ।
२८ वटा नागरिक सङ्घसंस्थाहरूसहित नेपाल सरकारका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा भएको कार्यक्रममा ६० जना युवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा विपना शर्माले विभिन्न जिल्लामा महिला बालबालिका युवाको शिक्षा स्वास्थ्य संरक्षण जिविकोपार्जन वातावरण संरक्षण जलवायु परिवर्तनका विषयमा धारणा राखेकी थिईन् । उनले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् बालबालिका राष्ट्रिय गौरव हुन्, बालमैत्री स्थानीय शासन, युवा मैत्री, पोषणमैत्री, बालिका सशक्तिकरण प्रवर्धनमा काम गरिरहेको बताउँदै यस्ता कार्यमा सबै सरोकारवालाहरूको सहयोग जरुरी रहेको बताईन् ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरीले जलवायु अनुकूलन र समावेशी कदमका लागि युवा नेतृत्व अपरिहार्य भएको बताउँदै यस्ता अभियानहरुमा युवा सशक्त भएर लाग्न आग्रह गरे ।
युएनडीपी नेपालका हेड अफ सोलुसन म्यापिङ विनीता कार्कीले जलवायु शासन प्रवर्धन र युवा मैत्री शासन प्रवर्धनमा राष्ट्रिय युवा परिषद् र जागृति बाल तथा युवा सरोकार नेपालसंगको सहकार्यमा विगतमा भएका असल अभ्यासको अनुभव सुनाउँदै गरे के हुन्न र भन्ने उदाहरण दिएका थिए ।
कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालका कार्यक्रम व्यवस्थापक केवल श्रेष्ठले युवालाई वातावरण संरक्षणसँग सम्बन्धित विषयमा ज्ञान र सीप दिएर उनीहरूलाई परिवर्तनका बाहकका रूपमा क्षमता अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका गोविन्दप्रसाद पोखरेलले युवाहरूसँग सहकार्य गर्न तयार रहेको बताउँदै वातावरण संरक्षण पर्यावरणको विकासका निम्ति अगाडि बढ्न आग्रह गरे ।
गैरसरकारी संस्था महासङ्घ नेपालकी वरिष्ठ उपाध्यक्ष नानीमाया थापाले पैसा हुँदा मात्र कार्यक्रम चलाउने परीपाटीबाट माथि उठेर साझेदार ढङ्गबाट कार्यक्रमहरुलाई दिगो बनाउनुपर्ने कुरामा जोड दिँदै युवाहरूमा लगानी गर्न सरकारलाई अपिल गरिन् ।
प्रतिनिधि सभाका सदस्य तथा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य सूर्य ढकालले विपत सूचना प्रणालीलाई व्यवस्थित गरी लागू गर्ने र पाठ्यक्रममा विपतको विषय राख्ने योजना रहेको सुनाउँदै युवाहरूको विकास समृद्धि र उद्यमशीलता प्रति सरकार र संसद गम्भीर रहेको बताए ।
जलवायु न्याय र सहनशीलता सुनिश्चित गर्न निरन्तर रूपमा युवा र सरोकारवालाहरूको बीचमा सहकार्य आवश्यक रहेको र केवल बजेटको उपलब्धता मात्र नभई यसलाई दीर्घकालीन साझा प्रतिबद्धता र दृष्टिकोणका साथ सहकार्य आवश्यक रहेको पुष्टि गर्दै युवामैत्री बालमैत्री वातावरण मैत्री लैङ्गिक मैत्री अपाङ्गता मैत्री र सामाजिक सुरक्षासँग सम्बन्धित कार्यक्रम र अभियानहरुलाई सँगसँगै अगाडि बढाउने कुरामा जोड दिँदै संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले दिगो विकास हरित अर्थतन्त्र र उद्यमशीलताको विषय उत्तिकै महत्त्वपूर्ण भएको धारणा ब्यक्त गरे ।
कार्यक्रममा युवा अभियन्ताहरू आस्मा अर्याल, रिता थापा, आशा बिक, ऋतु घर्ती, कोपिला महतो, युवराज चापागाई, टेकबहादुर मगर लगायतका युवाहरूले वातावरण संरक्षण दिगो विकास र स्थानीय तहमा आफूहरूले गरेका कामहरूको विषयमा आफ्ना कुराहरू राखेका थिए ।