साउन २७, देवचुली ।
देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले युवा पलायनलाई रोक्दै स्वदेशमै रोजगार सृजना गर्न स्थानीय स्तरमा चुनौती रहेको बताएका छन् ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार विहान नगर रंगशालामा आयोजित वृक्षरोपण कार्यक्रममा बोलेका नगर प्रमुख न्यौपानेले सिमित स्रोत र साधनका बावजुत पनि नगरपालिकाले प्रयन्त गरेको जिकिर गरेका हुन् ।
जनताले अपेक्षा गरेका बिकासलाई परिणाम दिन नगरपालिका हरसम्भव लागेको बताएका नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिकाको समग्र बिकासमा यहाँको कृषि, उद्योग, पर्यटन लगायत प्रवद्र्धनको हुटहुटी रहेको सुनाए ।
युवा तथा खेलकुद बिकास समिति देवचुलीको आयोजना र युवा तथा खेलकुद बिकास समिति वडा नं. १० को सहआयोजनामा भएको बृक्षरोपण कार्यक्रम वडा नं. १० को समन्वयमा भएको हो ।
देवचुली नगरपालिकाकै एकमात्र नगरस्तरीय रंगशाला खेल मैदान बाहिरको खाली क्षेत्रमा कपूर र तेजपत्ता जातका सुगन्धित–मसलाजन्य १ सय ५० वटा विरुवा रोपिने वडाअध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए ।
खेलकुद बिकास समिति देवचुलीका अध्यक्ष दिपकचन्द्र भटराईको अध्यक्षतामा भएको औपचारीक कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख न्यौपाने र नगर खेलकुद बिकास समितिका अध्यक्ष भटराईले संयुक्त रुपमा बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
वडा नं. १० का विभिन्न टोलबाट प्रतिनिधिमूलक नागरिक सहभागितामा भएको बृक्षरोपणमा नजिकैका स्थानीयहरुको वृहत उपस्थितिमा वृक्षरोपण भएको हो ।