देवचुली गोल्डकपः आयोजकलाई हराउँदै कावासोतीले जित्यो उद्घाटन खेल

0 Shares

खगेन्द्र पराजुली, नवलपुर ।
दोस्रो देवचुली गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । शान्तिदिप युवा क्लबको आयोजनामा नगर रंगशालामा प्रतियोगिता सुरु भएको हो ।
शनिबार भएको पहिलो उद्घाटन खेलमा कावासोतीको टीमले विजयी सुरुवात गरेको छ । आयोजक शान्तिदिप युवा क्लबलाई ४–१ गेल अन्तरले हराउँदै कावासोती खेलकुद विकास समिति अगिल्लो चरणमा उक्लेको छ । खेल अवधिभर कावासोतीका नगेन्द्र महतो, मनिश सुनार, आयुष बिक र प्रसिद्ध खनालले १÷१ गोल गरे । शान्तिदिपका साजन बुढाथोकीले सान्त्वना एक गोल गरे ।
पहिलो खेलमा कावासोतीका सरोज केसी मेन अफ द म्याच भए ।
आइतबार कावासोतीको योङ्ग स्टार क्लब र चितवनको एभरेष्ट फुटबल क्लब बिच खेल हुने तालिका छ ।
३ लाख रुपैंया प्रथम पुरस्कार रहेको देवचुली गोल्डकपमा १४ टिम खेल्नका लागि दर्ता भएका छन् । प्रतियोगितामा १ लाख ५० हजार रुपैया दोस्रो पुरस्कार रहेको छ भने सेमीफाइनल हुने २ टीमलाई प्रोत्साहन स्वरुप २५–२५ हजार रुपैंया पुरस्कार रहेको छ ।
हरेक प्रतिस्पर्धात्मक खेलका मेन अफ द म्याचलाई आयोजकले दैनिक सम्मान–पुरस्कृत गर्नेछ । समापनमा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि आयोजकले पुरस्कारको व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप