खगेन्द्र पराजुली, नवलपुर ।
देवचुली नगरपालिकाको वडा नम्बर ६ लाई ‘पूर्ण सरसफाइ उन्मुख क्षेत्र’ घोषणा गरिएको छ । सरसफाइ, स्वच्छता तथा प्रत्येक घरमा खानेपानीको धारा पुगेपछि वडालाई ‘पूर्ण सरसफाइ उन्मुख क्षेत्र’ घोषणा गरिएको हो ।
सरकारद्धारा निर्दिष्ट सूचकहरु पूरा भएकाले वडा नं. ६ लाई सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको हो ।
किर्तिपुरको शारदा आधारभूत विद्यालयमा भएको घोषणा समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले वडाअध्यक्ष मिनबहादुर सोतीलाई पूर्ण सरसफाई उन्मुख क्षेत्रको प्रमाण पत्र प्रदान गरे ।
घोषणा सभामा नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, वडा नं. ९ का अध्यक्ष बलिराम सापकोटा लगायत खानेपानी तथा सरसफाई क्षेत्रसँग सम्वन्धित सरोकारसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा शुभकामना भनाइ राखेका वक्ताहरुले स्वच्छता, सरसफाई र आधारभूत आवश्यकतामा भएका पहलकदमी, उपलब्धि र बिकासका सूचकले पनि वडा नं. ६ किर्तिपुर अरु ठाउँको तुलनामा तिब्र परिवर्तन भएको प्रति खुसी साटे ।
घोषणा समारोहमा नगरपालिकाका वास फोकल पर्सन अविनास पन्थी, वास नमूना गाउँ परियोजनाका प्रविण घिमिरे, जिल्ला खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, प्रगतिनगर खानेपानीका अध्यक्ष डिल्लीराम कडरिया समेतले बोलेका थिए ।
सभामा वास नमुना गाउँ परियोजना, वडाभित्रका ८ वटा खानेपानी संस्था तथा सरसफाइ अभियानका स्वयमसेवकलाई सम्मान, साँस्कृतिक कार्यक्रमका गतिविधि समेटिएको थियो ।
वडा अध्यक्ष मिनबहादुर सोती मगरको अध्यक्षता तथा वडा सदस्य मनकुमारी बिकको स्वागत मन्तव्यमा भएको सभामा वडा नं. ६ का सदस्य गुमबहादुर थापाले सूचक हासिल गर्न गरिएका प्रयास–प्रगति प्रस्तुत गरेका थिए ।
देवचुलीको वडा नं. ६ गण्डकी प्रदेशमै पहिलो पूर्ण सरसफाई उन्मुख क्षेत्र भएको दावी गरिएको छ । ४०५ घरधुरी रहेको वडा नम्बर ६ का प्रत्येक घरमा शौचालय र एक घर एक धारा निर्माण भई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा भएको हो ।