खगेन्द्र पराजुली, नवलपुर ।
दोस्रो देवचुली गोल्डकप फुटबल प्रतियोगिताको पहिलो चरणको तेस्रो खेल पर्वतले जितेको छ । शान्तिदिप युवा क्लबको आयोजनामा नगर रंगशालामा शनिबारदेखि सञ्चालित प्रतियोगिताको तेस्रो दिन भएको खेलमा चितवनको नारायणी फुटबल क्लवलाई २–१ गोल अन्तरले हराउँदै पर्वत पैयुको टीम अघिल्लो चरणमा प्रवेश गरेको हो ।
सोमबारको खेलमा पर्वतको पैयु गाउँपालिकाका तर्फबाट समिर नेपाली र युग लामाले १–१ गोल गरे भने नारायणीका अमृत श्रेष्ठले १ गोल गरेका हुन् ।
सोमबारको खेलमा पर्वतका युग लामा मेन अफ द म्याच भए ।
देवचुली गोल्डकपको चौथो दिन मंगलबार मोनस्टार गाइज सुनवल र देवचुली युवा तथा खेलकुद बिकास समितिको टीमबिच प्रतिस्पर्धा हुने तालिका छ ।
३ लाख रुपैंया प्रथम पुरस्कार रहेको देवचुली गोल्डकपमा १४ टिम खेल्नका लागि दर्ता भएका छन् । प्रतियोगितामा १ लाख ५० हजार रुपैया दोस्रो पुरस्कार रहेको छ भने सेमीफाइनल हुने २ टीमलाई प्रोत्साहन स्वरुप २५–२५ हजार रुपैंया पुरस्कार रहेको छ ।
हरेक प्रतिस्पर्धात्मक खेलका मेन अफ द म्याचलाई आयोजकले दैनिक सम्मान–पुरस्कृत गर्नेछ । समापनमा उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि आयोजकले पुरस्कारको व्यवस्था गरेको छ ।
आइतबारदेखि खेल हेर्न जाने खेलप्रेमी दर्शकले टिकट काट्नुपर्नेछ । आयोजकले प्रवेशका लागि ५० रुपैंयाको टिकट र मोटरसाइकल पार्किङको २० रुपैंया शुल्क लिएको छ ।
युवा, जनप्रतिनिधि, युवा तथा खेल क्षेत्रका पदाधिकारी, खेलप्रेमी दर्शकहरुले सोमबारको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको मज्जा लिएका थिए ।