घुमाउरी सामुदायिक वन समूहको २९ औं  वार्षिक साधारण सभा सम्पन्न

0 Shares

देवचुली । देवचुली-९ विशालटारको घुमाउरी सामुदायिक वन समूहको २९ औं  वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार वनक्षेत्र स्थित खेल मैदानमा आयोजित खुल्ला सत्रमा प्रस्तुत प्रतिवेदन बन्द सत्रले  अनुमोदन गर्दै साधारण सभा समान्न भएको हो ।

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीको प्रमुख आतिथ्यता रहेको खुल्ला सत्रमा बोल्दै कार्यालय प्रमुख अधिकारीले वन समूह को विधान र वन कार्य योजना अन्तर्गत रहेर वन सञ्चालन, व्यवस्थापन, उपयोग गर्न आग्रह गरे। उनले डिभिजन वन कार्यालयको भन्दा पनि धेरै ठूलो आकारको वार्षिक बजेट नवलपुरको तराई-भित्री मधेसका वन समूहको वजेट भएकाले पनि कानूनले तोके बमोजिमको संरक्षण, सामाजिक विकास, उद्यम र उत्पादन, संस्था सञ्चालन-व्यवस्थापनमा खर्च-लगानी गर्दै आफ्नै सेवाक्षेत्र भित्रको विकासमा अहम् भूमिका खेल्न सकिने बताए ।

बन कार्यालय प्रमुख अधिकारीले अशोज मसान्तभित्र गरिसक्नुपर्ने समूह भेला अर्थात साधारणसभा ढिलो हुनु भनेको लाइसेन्स र अधिकार विहिन हुनु जस्तै भएकाले यस बीचमा हुन सक्ने अप्रत्याशित गतिविधि समूह-संस्थाका लागि घातक हुनसक्ने तर्फ संकेत गरे । उनले साधारण सभामा वोलेका वक्ताहरूले उठाएका वन संरक्षण-व्यवस्थापन, पूर्वाधार विकासका विषयमा कानूनी, नीतिगत परिधिभित्र रहेर गर्न मिल्ने र सकिने योजना-कार्यक्रममा सहजीकरण गर्ने स्पष्ट पारे।

संस्थाका अध्यक्ष पार्वती राउलको २०७९/८० को प्रगति, सचिव कुल्तादेवी काफ्ले न्यौपानेको बैठक सञ्चालन, निर्णय-प्रस्ताव – कार्यान्वयन सहितको प्रगति, कोषाध्यक्ष सोम वहादुर सेन्चुरीको आर्थिक, अनुगमन संयोजक भिम वहादुर श्रेष्ठ र लेखा संयोजक ङुनु गिरीको सुझाव-टिप्पणी सहितको वार्षिक प्रतिवेदन र आगामी वर्ष २०८०/८१ का प्रस्तावित प्रतिवेदन प्रस्तुति पछि शुभकामना भनाई राखेका वक्ताहरुले यस अघि भए गरेका कामको उपलब्धिलाई संरक्षण-निरन्तरता दिदै उद्यमसँग जोड्ने वा संरक्षन गर्ने, जमिन पहिचान गरी नगदेवाली खेती लगाउने, आम्दानीको स्रोतलाई वन, विकास र गरिव-विपन्नका क्षेत्रमा प्राथमिकता दिनुपर्ने लगायतका सुझाव प्रस्तुत गरेका थिए ।

वडा नं. ९ का वडा अध्यक्ष बलिराम सापकोटाले घुमाउरी वन क्षेत्र भित्र रहेको पिकनिक स्थलको आकर्षण बढाउन र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यहाँका  योजनाहरूमा वडा र नगरको चासो रहेको वताउँदै प्रदेश-संघ सरकारका विषयगत मन्त्रालय-विभागमा गौरवको योजनामा समावेश गर्ने आशयका माग निवेदन फाइल पेश गरेको स्पष्ट पारे। उनले वनमा खेर गइरहेका वस्तुहरुको प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्‌ने कार्यक्रम वडा-नगरपालिकाले गरेको बताए ।

बन समूहकी अध्यक्ष पार्वती राउलको अध्यक्षता, उपाध्यक्ष चन्द्रबहादुर थापाको स्वागत तथा गणेश पाण्डेको सञ्चालनमा भएको उद्‌घाटन सत्रका अवसरमा बन संरक्षण र चोरी – शिकारी नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेबापत उपभोक्ताद्वय सिताराम राना र विकास लुङेलीलाई संस्थाले सम्मान पत्रले सम्मानित गरेको छ ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार थप