देवचुली । देवचुली-१२ मुक्तिक्षेत्रमा जिल्लाकै प्रख्यात विनायक गणेश मन्दिर निर्माणार्थ गणेश पुराण आयोजन हुने भएको छ। फागुन १ देखी ५ गतेसम्म मन्दिर निर्माण परिसर क्षेत्र मुक्तिक्षेत्र वाल उद्यान एवम् नागस्थान क्षेत्रमा गणेश पुराणको पूर्व तयारी सम्पन्न भएको नागस्थान धार्मिक सेवा समितिले जनाएको छ।
फागुन १ गते यज्ञ समुद्घाटन पश्चात् विख्यात वाचक शितलकृष्णजी महाराजबाट कथा-प्रवचन हुनेछ । सोही क्रममा फागुन २ गते विनायक गणेश मन्दिर शिलान्यास, नाग देवताको दर्शन (नेत्रोमिलन), सरस्वती पूजा, व्रतवन्ध र तुलादानको कार्य तालिका रहेको छ।
काठमाण्डौ, भक्तपुर र ललितपुरमा दर्शन गर्न पाइने प्राचीन शैलीका मन्दिरकै झल्को दिने कलात्मक र आकर्षक ५ तले मन्दिर स्थापनाका लागि यज्ञ सञ्चालन गरिएको समितिका अध्यक्ष दिनानाथ भुसाल (दिनेश) ले बताए ।
१६ बाई १६ फिट आधार संरचनामा विभिन्न कलात्मक आकृतिका टुँडाल सहित मन्दिर वन्नेछ । जिल्लामा विभिन्न देवी-देवताका प्रख्यात मन्दिरहरू भएका तर गणेशको मन्दिर नभएको हुँदा धार्मिक-साँस्कृतिक पर्यटकीय गन्तब्यका रूपमा विकास गर्ने उद्देश्यले पवित्र धार्मिक स्थलका रूपमा परिचित मुक्तिक्षेत्र – नागस्थान क्षेत्रमा विनायक मन्दिर स्थापनाको संकल्प लिइएको भुसाल वताउँछन् ।
देवचुलीमै नागरिक तहवाट संरक्षण, संवर्द्धन, प्रवर्द्धन हुदै आएको यस क्षेत्रमा नेपाली मौलिक वास्तुकलालाई प्रवर्द्धन र जीवन्त राखिराख्न नागरिक सहभागितामै मन्दिर निर्माणको लक्ष्य रहेको उनी बताउँछन् ।
यज्ञ प्रारम्भ पूर्व मन्दिर निर्माणका लागि दाता महानुभावहरुवाट विभिन्न जिन्सी सामग्री सौजन्य प्राप्त भएको र यज्ञ अवधि वा सो पश्चात समेत मन्दिर निर्माणार्थ प्रयोग हुने सामग्री निर्माणमा लाग्ने दक्ष जनशक्तिको प्राविधिक खर्च सौजन्य वा यथासक्य नगद दान गर्न सकिने भुसाल वताउँछन् ।
छड, सिमेन्ट, जस्ता पाता प्रयोग नगरिकनै काठ, ढुंगा, इट्टा, सुर्कीचुना र तामा वा पित्तलको समायोजनवाट निर्मान हुने मन्दिरमा बुट्टा कुँदेका खम्बा, आँखी झ्याल, स-साना बुट्टा, टुँडाल, कलात्मक शिंह र हातीका टाउकोका आकृतिले बाह्य पर्यटकका साथै आन्तरिक धार्मिक-साँस्कृतिक धर्मानुरागी भक्तजन समेतको आकर्षण बढ्ने हुँदा देवचुली नगरपालिकाकै पर्यटन प्रवर्द्धनमा यसले टेवा पु-याउने आयोजक धार्मिक सेवा समितिले अपेक्षा लिएको छ ।