देवचुली १४ मा आमा समुह लक्षित मादल बजाउने तालिम

0 Shares

देवचुली । देवचुली नगरपालिका वडा नं. १४ ले मादल बजाउने तालिम प्रदान गरेको छ । वडाभित्रका १८ आमा समूह र २ सामुदायिक विद्यालयवाट प्रतिनिधि सहभागी महिला लक्षित ५ दिने प्रशिक्षण सम्पन्न गरेको हो। माघ २५ गतेदेखि कैलाशचौकस्थित प्रगति कला मन्दिरको सभाहलमा चलेको प्रयोगात्मक तालिम सोमवार समापन भयो ।

देवचुली १४ को बड़ा महिला सञ्जालकी अध्यक्ष सरस्वती पन्थीको अध्यक्षता तथा वडा अध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यतामा भएको समापन सत्रमा वडाअध्यक्ष थापाले महिलाहरूको नेतृत्व क्षमता विकासका साथै सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमको उपलब्धि मुल्यांकनमा देखिने गरी प्रस्तुत हुन आग्रह गरे । कार्यपालिका सदस्य पार्वती कंडेल अर्यालले मौलिक संस्कृति जगेर्ना र लोकवाजाको प्रभावकारीता वढ्‌दै गएकाले आयआर्जनको पाटोमा जोडिन सीप र प्रतिभा भएका महिलाहरुको वाजा समूह बनाएर विभिन्न कार्यमा माग पूर्ति हुने, प्रतिस्पर्धी र सक्षम बन्न प्रेरित गरिन् ।

५ दिनसम्म चलेको तालिममा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका सह-कोषाध्यक्ष एवं लोकप्रिय मादल वादक ईश्वरी प्रसाद भुसाल (मादले दाई) ले प्रशिक्षण दिएका थिए। वडा नं. १४ को १ लाख रुपैया वजेट शिर्षकमा भएको तालिममा २० वटै समूहलाई एउटाका दरले मादल समेत प्रदान गरिएको थियो ।

यसैवीच, तनहुँको आनुखैरेनी गाउँपालिकाबाट सरुवा भई देवचुली नगरपालिकाको आर्थिक शाखाको लेखा प्रमुखका रूपमा आएका देवचुली-१४ स्थायी घर भएका नारायण ढकाललाई उपस्थित अतिथि- सहभागीले स्वागत सम्मान गरेका थिए ।

आफ्नै वडावासी प्रतिनिधिमूलक सहभागीवाट सम्मानित भएका लेखा प्रमुख ढकालले सरकारी आर्थिक सहयोगमा हुने जुनसुकै क्षेत्रको लगानी संरक्षण र प्रतिफल प्राप्ति देखिनुपर्ने बताए । उनले लक्षित क्षेत्रमा गरिएको उद्देश्य केन्द्रित उपलब्धिको अपेक्षा पनि गरे। सीपसँग जौडिएको कार्यक्रमवाट उत्पादन र आम्दानीको अपेक्षा रहने भएकाले तालिममा सिकेका सीपलाई अभ्यास गर्दै, व्यवहारमा उतार्दै, प्रतिस्पर्धाका माध्यमवाट उत्पादन र आम्दानीमा जोडिन उनले प्रेरित गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार थप