देबचुली । देवचुली -१२ मुक्तिक्षेत्रमा पुरातत्व विभागको मापदण्डमा वन्ने मुक्ति विनायक गणेश मन्दिरमा प्रयोग हुने काष्ठकलाको काम थालिएको छ। यहाँ आयोजित पञ्चदिवसीय श्री गणेश पुराण ज्ञान महायज्ञकै शुभ-मुहुर्त पारेर काठमा बुट्टा कुद्ने कामको थालनी भएको हो। सबैभन्दा धेरै प्रयोग हुने काठको काम गर्न ललितपुरले छनोट गरेका उत्कृष्ट कालिगढले काम गरिरहेका मुविक्षेत्र धार्मिक सेवा समितिका अध्यक्ष दिनेश भुसालले जनाएका छन् ।
१६ बाई १६ फिट आधारमा निर्माण हुने ४ तल्लाको मन्दिरमा १ हजार ७ सय ३९ क्यूव फिट काठ प्रयोग हुने प्रारम्भिक अनुमान गरिएको छ । काठकै दलिन, खम्बा, झ्याल, ढोका, आँखी-झ्याल, बुट्टा, टुँडाल, कडि, फलेक, मेठ, सिंह र हात्तीको टाउको आकृतिमा काठ का सादा तथा कलात्मक सामग्री प्रयोग हुनेछन् ।
झण्डै चार करोड रुपैयाको लागत खर्चमा बन्ने मन्दिरमा प्रयोग हुो काठको मूल्य र कालिगढ ज्याला मात्रै झण्डै २ करोड २६ लाख ७० हजार लाग्ने जनाइएको छ ।
ठूलो लागत खर्चमा बन्ने मुक्ति विनायक गणेश मन्दिर धार्मिक पर्यटकीय गन्तब्य र आस्थाको केन्द्रका रुपमा विकास गरिने परिकल्पना गरिएको भुसाल बताउँछन् । यस मन्दिरलाई पशुपतिनाथ दर्शन गर्ने धर्मावलम्बीसँगको सम्बन्ध स्थापित गर्ने गरी प्रचार प्रसारलाई प्राथमिकता दिइने उनी वताउँछन् । आन्तरिक तथा भारतीय तिर्थालुहरुलाई पशुपतिनाथको दर्शनपूर्व पवित्र देवभूमी नागस्थानमा स्थापित मुक्ति विनायक पञ्चमुखी गणेश भगवानको दर्शनको लागि योग्य र फलदायी मन्दिरको रुपमा विश्वास धारणा जागृत गराउने गरी भारत नेपालमा हुने विशाल धार्मिक महायज्ञ सभा-सम्मेलन मार्फत समन्वय र प्रचार व्यापक पार्ने अवधारणा रहेको समेत भुसालले स्पष्ट पारे ।
यहाँ वन्ने गणेश मन्दिर यस क्षेत्रकै धार्मिक गन्तब्यको रुपमा विकास गर्दा यहाँका अन्य धार्मिक, साँस्कृतिक, जैविक, पर्यावरण, साहसिक पदमार्ग, खेल पर्यटनसँग सम्बन्धित थुप्रै विधाका पर्यटकीय गन्तब्यको एकैसाथ प्रवर्द्धन प्रचार प्रसार हुने र त्यसको प्रतिफल यहाँको समग्र आर्थिक – व्यवसायिक क्षेत्रले फड्को मार्न बल पुग्ने स्थानीयले विश्वास लिएका छन् ।
हाललाई नागरिक सहभागितामा करीव १ करोड रुपैया वजेट सुनिश्चिता रहेकाले मन्दिर निर्माण कार्यको थालनी गरिएको धार्मिक समितिले जनाएको छ । यो आर्थिक वर्षको असार मसान्तभित्र जगको काम सकिने गरी चैत महिनाबाट जगको काम थालिने जनाइएको छ । ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिर निर्माण आउँदो आर्थिक वर्षको अन्तिमसम्ममा एक तला सम्पन्न हुने भुसाल बताउँछन् ।
सबैभन्दा धेरै खर्च काठका सामाग्रीमा हुने भएकाले यस क्षेत्रमा रहेका सामुदायिक वन, बन मन्त्रालय, डिभिजन वन कार्यालयबाट आवश्यकता अनुसार सहजीकरणको लागि अपेक्षा लिइएको उनी बताउँछन् ।
भगवान्को घर बनाउन थालिएको महान् कार्यमा सम्पूर्ण सहयोगी हातहरुवाट एउटा एउटा जिन्सी सामग्री सौजन्य प्राप्त भएमा लक्ष्य समय भित्रै काम सम्पन्न गर्न कुनै कठिनाई नरहेको भुसाल वताउँछन् ।
भिडियो समाचारका लागि तलको लिंकमा जानुहोस् ।
https://fb.watch/qiDZPUlPuB/?mibextid=Nif5oz