देवचुली १६ को विजयी शुरुवात

0 Shares

देवचुली । रजहरमा शुक्रवारबाट शुरु भएको फुटवल प्रतियोगितामा देवचुली १६ बी समुहले विजयी शुरुवात गरेको छ । देवचुली १४ सँग उद्घाटन खेलमा प्रतिस्पर्धामा भिडेको वडा नं. १६ को बी समुहले ३-१ गोल अन्तरमा जित निकाल्दै अर्को चरणका लागि स्थान पक्का गरेको हो ।

प्रतिस्पर्धामा वडा नं. १६ का सुमित परियारले २ र नारायण सापकोटाले १ गोल गर्दा वडा नं. १४ को खातामा दर्ता भएको १ गोल वडा नं. १६ कै खेलाडीले गरेको आत्मघाती गोल थियो । यससँगै पहिलो खेलको म्यान अफ द म्याच वडा नं. १६ का खेलाडी सुमित परियार बने ।

युवा तथा खेलकुद विकास समिति वडा नं. १६ को आयोजना तथा धुसेरी सामुदायिक वन र लायन्स क्लव अफ रजहर सिटीको सह आयोजनामा सञ्चालित प्रतियोगितामा शनिवार दुई वटा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष आनन्द बाँनियाले जनाए । उनले दिएको जानकारी अनुसार पहिलो प्रतिस्पर्धा देवचुली वडा नं. ७ र वडा नं. ८ वीच हुनेछ भने दोस्रो प्रतिस्पर्धामा वडा नं. ५ र १० भिड्‌नेछन् ।

२०८१ साल बैशाख ३ गतेसम्म रजहरस्थित देवचुली माविको खेल मैदानमा हुने वडास्तरीय फुटवल प्रतियोगिताको उद्घाटन देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले गरे । नगर युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव प्रकाश काफ्लेको सञ्चालनमा भएको औपचारिक उद्घाटन सत्रको अध्यक्षता वडा खेलकुद समितिका अध्यक्ष आनन्द बाँनियाले गरेका थिए । वडा नं. १६ र १७ का वडा अध्यक्षद्धय केशवराज गौतम र दीपक चालिसे (गणेश) समेतले खेलाडीको हौसलाका लागि मैदानबाटै खेल अवलोकन गर्दा खेलकुद बिकास समितिका पदाधिकारी सदस्य तथा खेलप्रेमी दर्शकहरुले खेलाडीहरुलाई हौस्याएका थिए ।

प्रतियोगितामा नगरभित्रका विभिन्न वडाबाट १६ समुहले भाग लिएका छन् । प्रतियोगितामा प्रथम र द्धितीय हुने टीमले क्रमशः ५१ हजार १ सय ११ र २५ हजार ५ सय ५५ सँगै मेडल, टफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमीफाईनल पुग्ने २ टीमका लागि प्रोत्साहन स्वरुप ५।५ हजार रुपैया राशीको पुरस्कार रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप