देवचुली । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले नवलपुरको देवचुली नगरपालिकामा प्राविधिक, ब्यवहारिक र सीप सहितको शिक्षालाई जोड दिने उदेश्य सहितको अन्तरक्रियात्मक छलफलसँगै पालिका स्तरीय टिभिइटी सञ्जाल गठन गरेको छ । शुक्रवार देवचुली नगरपालिकाको सभाहलमा गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका अधिकारीहरुले जनप्रतिनिधि, अधिकांश सामाजिक, आर्थिक विकाससँग सरोकार राख्ने नगर शाखाका प्रमुख एव कर्मचारी, प्रतिनिधिमुलक विद्यालयका प्रधानाध्यापक, स्थानीय स्तरमा रोजगारी दिएका उद्योग वाणिज्य संघसँग जोडिएका ब्यवसायीको उपस्थितिमा भएको अन्तरक्रिया पश्चात् सञ्जाल गठन भएको हो ।
नगर उपप्रमुख पार्वता तिवारीको संयोजकत्वमा गठन भएको सो सञ्जालमा सामाजिक विकास समितिका संयोजक समेत रहेकी वडा नं. ७ की वडा अध्यक्ष भूमीसरा आले, शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, प्रशासन शाखाका अविनास पन्थी, लेखा प्रमुख नारायण ढकाल, रोजगार शाखाबाट अनिता ज्ञवाली, कृषि शाखाका विजय ढकाल, शैक्षिक संस्थाका तर्फबाट प्राविधिक धारको शिक्षा लागु गर्दै आईरहेका विद्यालयहरु पृथ्वी माविका प्रधानाध्यापक जयनारायण सापकोटा र बरचुली माविका प्रधानाध्यापक चन्द्रदेव तिवारी, रोजगारदाताका तर्फबाट उद्योग वाणिज्य संघ देवचुलीका अध्यक्ष समेत रहेका सूर्य प्रसाद दवाडी, तेजप्रसाद न्यौपाने, चन्द्रा पौडेललाई हलले मनोनित गरेको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयका महानिर्देशक अम्विकाप्रसाद आचार्य, उपसचिव तोयनाथ लम्साल, चन्द्रप्रसाद तिमिल्सिनाले सीप जानेका ब्यक्तिहरुलाई सीप परिक्षणको दायरामा ल्याउन र नयाँलाई सीप सहितको दक्षता हासिल गर्दै दक्ष जनशक्ति उत्पादन गर्न तिनै तहका सरकारको समन्वयका बारेमा नीति, उदेश्य, कार्यविधि र अपेक्षा सहितको डिजिटल कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुत पश्चात आयोजित कार्यक्रममा बोलेका नगर प्रमुख हरिप्रसाद न्यौपानेले दिगो विकास र प्राविधिक, ब्यवहारिक र सीपसहितको शिक्षामार्फत दक्षता हासिल गराउने उदेश्यमा नगरपालिकाले निरन्तर रुपमै नीति कार्यक्रमको परिधिमा रहेर कार्य गरिरहेको स्पष्ट पार्दै थप उपलब्धि हासिल गर्न उपल्ला सरकार समेतको समन्वयकारी र सहयोगको अपेक्षा राखेका छन् ।