टि २० क्रिकेटः वडा नं. १३ र १५ को विजयी शुरुवात

0 Shares

देवचुली । रोयल क्रिकेट एकेडेमीमा शनिवारबाट शुरु भएको टी ट्वान्टी क्रिकेट प्रतियोगितामा देवचुली १३ को समुहले विजयी शुरुवात गरेको छ । देवचुली ९ लाई ९ विकेटले हराउँदै वडा नं. १३ ले विजयी शुरुवात गरेको हो । यस्तै, शनिवारै सोही मैदानमा भएको दोस्रो खेलमा वडा नं. १५ ले वडा नं. ५ लाई १ सय ११ रन अन्तरले हराउँदै जित निकालेको छ ।

नगर युवा तथा खेलकुद विकास समिति देवचुलीको आयोजनामा देवचुली १० स्थित रोयल क्रिकेट एकेडेमीको क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा वडा नं. ९ ले दिएको १११ रनको लक्ष्य १ विकेटको क्षतिमा ९ ओभरमै पुरा गर्यो ।

पहिले ब्याटिङमा उत्रिएको वडा नं. ९ ले १४ ओभर ३ बलमा सबै विकेट गुमाएको थियो । खेलमा वडा नं. १३ का प्रमिस अर्याल म्यान अफ द म्याच बने ।

यस्तै, शनिवारै भएको दोस्रो प्रतिस्पर्धामा वडा नं. १५ सँग वडा नं. ५ एक सय ११ रनले पराजित भयो । १ सय ७६ रनको लक्ष्य पछ्याएको वडा नं. ५ ले ११ ओभर २ बलमा सवै विकेट गुमाउदै ६५ रन मात्रै जोड्न सफल भयो ।

पहिले ब्याटिङ रोजेको वडा नं. १५ ले पुरै २० ओभर खेलेर १ सय ७५ रन जोडेको थियो । दोस्रो प्रतिस्पर्धामा वडा नं. १५ का कृष्ण जिसी म्यान अफ द म्याच भए ।

चैत ३० गतेसम्म चल्ने वडास्तरीय क्रिकेट प्रतियोगिताको आईतवारको पहिलो खेल बिहान वडा नं. ११ र १२ बीच र दोस्रो खेल दिउँसो वडा नं. १० र १६ बीच हुने तालिका छ ।

प्रतियोगितामा प्रथम हुने टीमले ३५ हजार, दोस्रो हुने टीमले २० हजार राशी सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमीफाईनल पुग्ने दुई टीमलाई प्रोत्साहन स्वरुप ५/५ हजार रुपैंया राशीको पुरस्कार रहेको छ ।

खेल शुरु हुनुपुर्व भएको औपचारिक उद्घाटन सत्रमा पुगेका नगर प्रमुख हरिप्रसाद न्यौपाने र वडाअध्यक्षत्रय एकदेव पौडेल, बलिराम सापकोटा र रेप्तीकुमार घर्तीमगरले त्रिकेट वलिङ ब्याटिङ गरेर खेल उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार थप