देवचुली । नवलपुरको देवचुली नगरपालिकाले पनि केन्द्रीकृत नागरिकता सूचना ब्यवस्थापन प्रणाली (सिसिआईएमएस) शुभारम्भ गरेको छ । आईतवार नगरपालिकामा जनप्रतिनिधि, वडा सचिव कर्मचारीको उपस्थितिमा नगर प्रमुख हरिप्रसाद न्यौपाने र प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले संयुक्त रुपमा कम्प्युटरमा अनलाईन अनुसुची खोलेर शुभारम्भ गरे । साथै, देवचुली ९ का निशान थापाको नामको कम्प्युटर अनुसुची फारम सफ्टवेयरमा प्रविष्ट गरी नगरपालिकाको पहिलो सेवाग्राहीका रुपमा सेवा शुभारम्भ भएको हो ।
नागरिकता वितरण प्रणालीलाई प्रविधिसँग जोड्दै ब्यवस्थित गर्न गृह मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुरुप चैत १५ गते देशमै पहिलो सेवा शुभारम्भका रुपमा गैंडाकोट नगरपालिकाबाट शुरुवात भएको अनलाईन सिफारीस जिल्लाको मध्यविन्दु र देवचुलीमा पनि शुरुवात भएसँगै सेवाग्राहीलाई सहज हुने सिडीओ श्रेष्ठले अपेक्षा गरिन् । उनले नागरिकता सिफारीस सम्वन्धि अनलाईन प्रणाली शुरु भएसँगै सेवा प्रवाहमा समेत सहजता, छिटो छरितो र म्यानुअल्लीमा आईपर्ने थुप्रै समस्या र झञ्झटको अन्त्य हुने बताईन् । उनले देशैभरि यो प्रणाली लागु भएपछि किर्ते, दोहोरो जस्ता झुटा विवरणका नागरिकताका घटना नदोहोरिने बताईन् ।
नगरप्रमुख हरिप्रसाद न्यौपानेले नागरिकता जस्तो संवेदनसिल विषयमा प्रविधि मार्फत हुने सिफारीसले सेवाग्राहीले प्राप्त गर्ने सेवा नागरिकमैत्री हुनुका साथै जनप्रतिनिधि कर्मचारीलाई लाग्न सक्ने झुटा विवरणको सिफारीस आरोपबाट जोगिन महत्वपूर्ण हुने विचार राखे । उनले सबै वडा सचिव कर्मचारीलाई अनलाईन सिस्टममा विवरण अद्यावधिक गर्दा हुन सक्ने त्रुटिका बारेमा सावधानीपुर्वक काम गर्न सुझाए ।
यो प्रणाली लागु भएसँगै अव नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारीसका पत्रहरु बोकेर जिल्ला, ईलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृह अन्तर्गत नागरिकता फाँट विभागमा रजिष्टेशन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ ।
Activate