देवचुली । देवचुलीका ७२ जना स्काउट विद्यार्थी दिक्षित भएका छन् । भीमसेन आदर्श माविमा आईतवार एक कार्यक्रमकाबीच उनीहरु दिक्षित भएका हुन् । दिक्षित हुनुपुर्व स्काउटमा आवद्ध स्थानीय स्काउट देवचुलीका सहभागीहरुले स्काउट मार्चपास समेत प्रदर्शन गरेका थिए ।
स्थानीय स्काउट देवचुलीका अध्यक्ष मनबीर थापाको अध्यक्षता तथा नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायतले स्काउट विद्यार्थीद्धारा प्रदर्शित मार्चपास अवलोकन गर्नुका साथै उनीहरुलाई पोशाक, प्रमाणपत्र र विद्यालयलाई वाजामा प्रयोग हुने ड्रम सामग्री प्रदान गरिएको थियो ।
देवचुली नगरपालिकास्तरीय स्थानीय स्काउटका संरक्षक समेत रहेका नगरप्रमुख हरिप्रसाद न्यौपानेले स्कूल तहदेखि नै बालबालिकाहरुले आफुलाई सामाजिक क्षेत्रमा प्रस्तुत गर्न, आफ्नो क्षमता बृद्धि गर्न र अुनशासित र नैतिकवान, चरित्रवान रुपमा उभ्याउँदै असल नागरिकको भूमिकामा उभ्याउन यस्ता क्षेत्रले उत्प्रेरित गर्ने धारणा ब्यक्त गरे ।
दिक्षान्त कार्यक्रममा बोलेकी सिडीयो कल्पना श्रेष्ठले अधिकांश विग्रने र सप्रने अवस्था नै स्कूले उमेर समुह भएकाले प्रतिनिधिमुलक रुपमा स्काउटमा आवद्ध वालवालिकाले स्काउटको मूलमर्ममा रहेर आफ्नै समुहका थुप्रै साथीहरुलाई सुमार्गतर्फ डोर्याउनतर्फ लाग्न प्रेरित गरिन् । उनले अहिले वालवालिकाहरु सामाजिक सञ्जाल र इन्टरनेटको गलत प्रयोगमा लाग्दा वढ़ेका समस्या र चुनौतीहरु सामाजिक विकृति, लागु औषधको कुलत र आत्महत्या तथा अपराधसम्मलाई न्युनीकरणमा स्काउट समूह लाग्नुपर्ने सुझाईन् । उनले प्रशासनका तर्फवाट निर्वाह गर्नुपर्ने भूमिका र समन्वयमा प्रहरी, प्रशासन, सरोकार निकायको सहजीकरणमा आफुले प्रयत्न गर्ने बताईन् ।
उक्त कार्यक्रममा भीमसेन मावि, जनज्योति नमूना मावि, नेपाल मावि र वरचुली माविका ७२ जना स्थानीय स्काउट देवचुलीमा आवद्ध विद्यार्थीहरु दिक्षित भएका हुन् ।